अस्ट्रेलियाको चर्चित प्रविधि कम्पनी क्यानभाले आफ्नो कुल जनशक्तिको २२ प्रतिशतलाई प्रभावित पार्ने गरी ठूलो व्यावसायिक पुनर्संरचना गर्ने घोषणा गरेको छ। कम्पनीको निर्णयबाट १ हजार २७१ कर्मचारी प्रभावित हुनेछन्। उनीहरूमध्ये केहीले रोजगारी गुमाउने, केहीलाई अन्य स्थानमा स्थानान्तरण गरिने र केहीको जिम्मेवारी तथा पद परिवर्तन गरिने कम्पनीले जनाएको छ।
कम्पनीकी सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेलानी पर्किन्सले पछिल्लो १३ वर्षको इतिहासमै यो सबैभन्दा कठिन निर्णय भएको बताएकी छन्। उनले कर्मचारीलाई पठाएको सन्देशमा पछिल्लो वर्ष कम्पनीका लागि अहिलेसम्मकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै एक दशकदेखि निरन्तर बढिरहेको व्यवसायको वृद्धि पहिलोपटक सुस्ताएको बताएकी छन्।
कम्पनीको मूल्यांकनमा समेत गिरावट आएको छ। यसअघि ६० अर्ब अस्ट्रेलियन डलर मूल्यांकन गरिएको क्यानभाको मूल्य पछिल्लो समय घटेर करिब ४९ अर्ब अस्ट्रेलियन डलरमा झरेको रिपोर्ट सार्वजनिक भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकासले कम्पनीको विद्यमान व्यवसायमा पार्ने प्रभाव र नयाँ एआई प्रविधि तथा उत्पादन विकासमा बढ्दो खर्चलाई यसको प्रमुख कारण मानिएको छ।
क्यानभाले आफ्नो उत्पादन तथा प्रविधि विकाससम्बन्धी टोलीलाई सिड्नीमा थप केन्द्रीकृत गर्ने योजना पनि अघि सारेको छ। आगामी वर्षदेखि हाइब्रिड प्रणालीमा काम गर्ने कर्मचारीले सातामा दुईदेखि तीन दिन कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था लागू गरिनेछ।
सन् २०१३ मा स्थापना भएको क्यानभाले प्राविधिक ज्ञान वा डिजाइनसम्बन्धी विशेष सीप नभएका प्रयोगकर्तालाई समेत विभिन्न डिजाइन, प्रस्तुति, पोस्टर तथा व्यावसायिक सामग्री तयार गर्न सहज बनाउँदै आएको छ।
एआई प्रविधिको तीव्र विस्तारले प्रविधि कम्पनीहरूको व्यवसायिक मोडेल, लगानी र रोजगारीमा समेत ठूलो परिवर्तन ल्याइरहेको पछिल्लो घटनाले देखाएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्