काठमाडौं । भेनेजुएलाको सेनाले आफ्नो भूभागमा शिविर बनाएर बसेका कोलम्बियाली वामपन्थी विद्रोही संगठन नेसनल लिबरेसन आर्मी (ईएलएन) माथि आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ। मानवअधिकारवादी संस्था फन्डारेडेसले शनिबार सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार भएको उक्त आक्रमणमा विद्रोही समूहका सदस्यहरू मारिएका हुन्।
फन्डारेडेसका निर्देशक जेभियर ताराजोनाले समाचार संस्था एएफपीलाई बताएअनुसार भेनेजुएलाली सेनाले पहिलोपटक आफ्नो भूभागमा शिविर बनाएर बसेका ईएलएन लडाकुमाथि सैन्य कारबाही गरेको हो।
संस्थाले सार्वजनिक गरेको भिडियोमा जमिनमा शवहरू छरिएको, रुखहरू ढलेको तथा ग्रामीण क्षेत्रमा रहेको शिविर ध्वस्त भएको दृश्य देखिन्छ। फन्डारेडेसका एक कर्मचारीले घटनास्थलमा कम्तीमा नौवटा शव गणना गरेको ताराजोनाले बताएका छन्।
यसैबीच, भेनेजुएलाको अपुरे राज्यका स्थानीय बासिन्दाले आक्रमणमा थप १० जना ईएलएन लडाकु मारिएको हुन सक्ने बताएका छन्। सैन्य मामिलाकी जानकार मानवअधिकारकर्मी रोसियो सान मिगुएलका अनुसार स्थानीयले दिएको सूचनाले मृतकको संख्या १९ सम्म पुग्न सक्ने संकेत गरेको छ। यद्यपि, थप मृत्युको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
भेनेजुएलाली सरकारले घटनाबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
ईएलएन ल्याटिन अमेरिकाको सबैभन्दा शक्तिशाली विद्रोही संगठनमध्ये एक हो। सन् २०१६ मा कोलम्बियाको अर्को प्रमुख विद्रोही संगठन फार्क (FARC) ले सरकारसँग शान्ति सम्झौता गरेपछि ईएलएन यस क्षेत्रको प्रमुख सशस्त्र विद्रोही समूह बनेको छ।
कोलम्बिया र भेनेजुएलाबीच दुई हजार किलोमिटरभन्दा लामो सीमा जोडिएको छ। उक्त क्षेत्रमा ईएलएनसहित फार्कका शान्ति सम्झौता अस्वीकार गरेका समूहहरू पनि सक्रिय छन्। यी समूहहरू लागुऔषध तस्करी र अवैध खानी सञ्चालनको नियन्त्रणका लागि आपसी संघर्षमा संलग्न रहँदै आएका छन्।
यसअघि कोलम्बियाली सरकारले भेनेजुएलामाथि आफ्ना विद्रोही समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको थियो। तर निकोलस मदुरो जनवरीमा अमेरिकी सैन्य कारबाहीपछि सत्ताच्युत भएपछि भेनेजुएला अहिले अमेरिकी ट्रम्प प्रशासनको कडा निगरानी र प्रभावमा रहेको समाचारमा उल्लेख छ।
यो घटनाले दुई देशबीचको सीमा सुरक्षा र क्षेत्रीय राजनीतिक सम्बन्धमा नयाँ तनाव उत्पन्न गर्न सक्ने देखिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्