काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा २७० रन बनाएको थियो।
यस जितसँगै नेपालले लिग–२ अभियानको अन्तिम खेलमा महत्वपूर्ण सफलता हासिल गरेको छ। नेपालका लागि यो जित एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यका दृष्टिले पनि महत्वपूर्ण बनेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। सुरुवाती ब्याटिङमा केही दबाबमा परेको नेपाललाई कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए।
रोहितले ८१ बलमा ८० रन बनाए। उनको इनिङ्समा दुई चौका र दुई छक्का समावेश थिए। दीपेन्द्रले ६२ बलमा ६९ रन जोड्दै चार छक्का र तीन चौका प्रहार गरे। यी दुईले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए, जुन नेपाली क्रिकेटको एकदिवसीय इतिहासमा उक्त विकेटका लागि कीर्तिमानी साझेदारी हो।
त्यसअघि देव खनालले ६५ बलमा ५७ रन र इशान पाण्डेले ६० बलमा २९ रन बनाएका थिए। अन्तिमतिर बसिर अहमदले सात बलमा १७ रन जोड्दै नेपालको स्कोर बढाउन योगदान दिए।
ओमानका शाह फैसलले पाँच विकेट लिँदा जय ओडेड्राले तीन विकेट हात पारे।
२८१ रनको लक्ष्य पछ्याएको ओमानले नेपाली बलरलाई चुनौती दिए पनि लक्ष्य भेट्टाउन सकेन। नेपालले अन्तिम ओभरसम्म दबाब कायम राख्दै १० रनको रोमाञ्चक जित निकाल्यो।
लिग–२ का शीर्ष छ टोलीले ओडीआई मान्यता कायम राख्ने व्यवस्था रहेकाले नेपालको अन्तिम स्थान र अंकतालिकाको अवस्थाले आगामी यात्रा निर्धारण गर्नेछ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्