काठमाडौं । फ्लाईदुबईको विमानमा सह–पाइलटले चक्कु प्रहार गरेपछि गम्भीर घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरले देखाएको सुझबुझ र साहसको अन्तर्राष्ट्रियस्तरमा चर्चा भएको छ।
उडानका क्रममा भएको आक्रमणपछि मच्छर गम्भीर घाइते भए पनि उनले ककपिटको ढोका खोल्न सफल भएको बताइएको छ। त्यसपछि विमानमा रहेका यात्रु तथा चालक दलका सदस्यलाई ककपिटभित्र प्रवेश गरेर आक्रमणकारी सह–पाइलटलाई नियन्त्रणमा लिन सहज भएको थियो।
इजरायली यात्रु यानिभ हयुनका अनुसार मच्छरले बेहोस हुनुअघि ककपिटको ढोका खोलेका थिए। हयुनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको कुराकानीमा घटनाबारे जानकारी गराएका थिए।
नेतन्याहूले सामाजिक सञ्जाल एक्समार्फत मच्छरको प्रशंसा गर्दै उनको कदमले विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। चक्कु प्रहारबाट घाइते अवस्थामा समेत उनले प्रतिकार गर्दै ककपिटको ढोका खोलेर यात्रु र चालक दललाई सह–पाइलट नियन्त्रणमा लिन अवसर दिएको नेतन्याहूको भनाइ छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मच्छरको भूमिकाको प्रशंसा गरेका छन्। ट्रम्पका अनुसार एक यात्रुले ककपिटमा प्रवेश गरी सह–पाइलटलाई सिटबाट तानेर नियन्त्रणमा लिन सहयोग गरेका थिए। पछि विमानमा रहेका अतिरिक्त पाइलट र सुरक्षा कर्मचारी ककपिटमा पुगेपछि विमानको नियन्त्रण सम्हालिएको बताइएको छ।
यद्यपि ट्रम्पले सार्वजनिक गरेका घटनाका केही विवरण आफूले प्राप्त गरेको जानकारीमा आधारित रहेको र सबै तथ्य स्वतन्त्र रूपमा पुष्टि भइनसकेको स्पष्ट पारेका छन्।
विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपतकालीन अवतरण गरिएपछि घाइते क्याप्टेन मच्छरलाई अस्पताल लगिएको थियो। भारतीय दूतावासका अनुसार उनको अवस्था स्थिर रहेको छ।
मच्छर अनुभवी पाइलट हुन्। उनको प्रोफाइलअनुसार उनले स्पाइसजेटमा एक दशकभन्दा बढी काम गरेका थिए। उनी ट्रेनिङ क्याप्टेन तथा नयाँ पाइलटका मेन्टरसमेत थिए। उनले बोइङ ७३७–८०० तथा ७३७ म्याक्स विमानमा करिब ९ हजार ७५० घण्टा उडान गरेको विवरण उल्लेख छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्