काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अमेरिकी गायिका तथा गीतकार सोफिया इसेलाको चर्चा बढेको छ। अनौठो प्रस्तुति, डार्क पप संगीत र फरक शैलीका म्युजिक भिडियोका कारण २१ वर्षीया इसेला युवा पुस्तामाझ तीव्र रूपमा चिनिन थालेकी छन्।
सन् २००५ जनवरी २९ मा अमेरिकाको लस एन्जलसमा जन्मिएकी इसेलाको पूरा नाम सोफिया इसेला मिरान्डा हो। उनी गायिका, गीतकार, संगीतकार तथा संगीत निर्माता हुन्। सानै उमेरदेखि भायोलिन बजाउन थालेकी उनले आठ वर्षको उमेरदेखि गीत लेख्न थालेको बताएकी छन्।
इसेलाको संगीतलाई अल्टरनेटिभ पप, डार्क पप र आर्ट रकसँग जोडेर वर्णन गरिन्छ। उनका गीतमा महिला जीवन, समाज, सम्बन्ध, धर्म र आधुनिक संस्कृतिजस्ता विषय समेटिने गरेका छन्। उनको प्रस्तुति र भिडियोमा भने सामान्य पप संगीतभन्दा फरक, केही अँध्यारा र असहज लाग्ने दृश्य तथा प्रतीक प्रयोग हुने गर्छन्।
उनको लोकप्रियता बढाउन सामाजिक सञ्जालको ठूलो भूमिका रहेको छ। ‘Everybody Supports Women’, ‘Hot Gum’ र ‘The Doll People’ जस्ता गीतका भिडियो तथा क्लिप सामाजिक सञ्जालमा भाइरल भएपछि उनको फ्यान आधार विस्तार भएको हो। इसेलाले स्वयं पनि आफ्नो करियरमा सामाजिक सञ्जालको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।
इसेलाले विश्वप्रसिद्ध गायिका टेलर स्विफ्टको लन्डनस्थित एरास टुरमा पनि उद्घाटन प्रस्तुति दिएकी थिइन्। पछिल्लो समय उनी अन्य अन्तर्राष्ट्रिय कलाकारका कार्यक्रम तथा आफ्नै टुरमार्फत पनि दर्शकमाझ पुगिरहेकी छन्।
सन् २०२६ मा उनको ‘Something is a shell.’ नामक ईपी सार्वजनिक भएपछि उनको चर्चा थप बढेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा देखिन थालेकी इसेला वास्तवमा नयाँ अनुहारभन्दा पनि केही वर्षदेखि संगीत क्षेत्रमा सक्रिय रहेकी, अहिले अन्तर्राष्ट्रिय रूपमा आफ्नो पहिचान विस्तार गरिरहेकी उदीयमान कलाकार हुन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्