बर्डफ्लु नियन्त्रण कडा : पन्छी तथा पन्छीजन्य उत्पादन ओसारपसारमा भेटेरिनरी प्रमाणपत्र अनिवार्य

insight dainik

काठमाडौं, २० असार — बर्डफ्लु संक्रमणको जोखिम बढ्दै गएपछि पशुसेवा विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसारमा थप कडाइ गरेको छ। विभागले अब कुनै पनि पन्छी, अण्डा तथा अन्य पन्छीजन्य उत्पादन एक स्थानबाट अर्को स्थानमा लैजाँदा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ।

विभागका महानिर्देशक उमेश दाहालका अनुसार बर्डफ्लु भाइरसले समयसँगै स्वरूप परिवर्तन गर्न सक्ने भएकाले यसको रोकथामका लागि सबै पक्षले उच्च सतर्कता अपनाउन आवश्यक छ। उनले व्यवसायी तथा किसानलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, प्रयोग भइसकेका अण्डाका कागजी क्रेट पुनः प्रयोग नगर्न तथा ढुवानीका सवारीसाधनलाई पूर्ण रूपमा निःसङ्क्रमण गरेपछि मात्र फार्मभित्र प्रवेश गराउन आग्रह गरेका छन्।

विभागले कुनै पनि पन्छी फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा धेरै पन्छी बिरामी पर्ने वा मर्ने घटना देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ। साथै कागलगायत जङ्गली पन्छीसँग घरपालुवा कुखुरा तथा तिनको दाना सम्पर्कमा आउन नदिने गरी सुरक्षित व्यवस्थापन गर्न किसानलाई सुझाव दिइएको छ।

बर्डफ्लु नियन्त्रण अभियानअन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा हालसम्म करिब सात लाख पन्छी नष्ट गरिएको विभागले जनाएको छ। त्यससँगै करिब ११ लाख अण्डा र करिब तीन लाख किलोग्राम दाना पनि नष्ट गरिएको छ, ताकि संक्रमण थप फैलिन नपाओस्।

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरेको छ। संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै आवश्यक जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रमा निगरानी, नियन्त्रण तथा सचेतना कार्यक्रम सञ्चालन भइरहेको विभागको भनाइ छ।

विभागले किसान, व्यवसायी र सर्वसाधारणलाई सरकारी निर्देशनको पूर्ण पालना गर्न तथा कुनै पनि शंकास्पद अवस्था देखिए ढिलाइ नगरी सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। यसबाट बर्डफ्लुको संक्रमण नियन्त्रण गरी पशुपन्छी व्यवसाय र जनस्वास्थ्य दुवैको सुरक्षा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रियाहरू ()

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्