टिकटकसँगको सहकार्यमा नेपालले सुरु गर्‍यो ‘भिजिट नेपाल’ अभियान, विश्व बजारमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य

insight dainik

काठमाडौं, कात्तिक २१

नेपालले विश्व पर्यटन बजारमा आफ्नो पहिचान विस्तार गर्ने उद्देश्यसहित सामाजिक सञ्जाल प्लेटफर्म टिकटकसँगको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान औपचारिक रूपमा सुरु गरेको छ। नेपाल पर्यटन बोर्ड र टिकटकको साझेदारीमा शुक्रबारदेखि सुरु भएको अभियानले नेपालको प्राकृतिक सुन्दरता, मौलिक संस्कृति, ऐतिहासिक सम्पदा तथा विविध पर्यटकीय गन्तव्यलाई डिजिटल माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखेको छ।

अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ। यसको शुभारम्भ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले डिजिटल प्लेटफर्मले विश्वभरका मानिसलाई नयाँ पर्यटकीय गन्तव्य खोज्न र भ्रमणको निर्णय लिन महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

उनले नेपालको पर्यटन, कला, संस्कृति, उद्यमशीलता र युवाको सिर्जनात्मक क्षमतालाई विश्वसामु पुर्‍याउन डिजिटल प्रविधिको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए।

नेपाल पर्यटन बोर्डको सार्वजनिक सम्बन्ध तथा प्रवर्द्धन विभागका कार्यवाहक निर्देशक सुनील शर्माले टिकटकसँगको सहकार्यले नेपालको पर्यटन प्रवर्द्धन रणनीतिमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।

अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाबाट आएका नौ जना अन्तर्राष्ट्रिय ट्राभल कन्टेन्ट क्रिएटरले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव टिकटकमार्फत विश्वभर सार्वजनिक गरिरहेका छन्। उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहने कार्यक्रम छ।

अभियानलाई थप प्रभावकारी बनाउन टिकटकमा छुट्टै ‘भिजिट नेपाल’ ह्यासट्याग पेजसमेत सुरु गरिएको छ। यसका साथै नेपाली कलाकार, सेलिब्रेटी र स्थानीय कन्टेन्ट क्रिएटरसँग सहकार्य गरी नेपालको मौलिक पहिचान र स्थानीय अनुभवलाई विश्वसामु प्रस्तुत गरिनेछ। विभिन्न पर्यटकीय स्थलबाट प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) समेत गरिनेछ।

टिकटकका मध्यपूर्व, युरेसिया तथा अफ्रिका क्षेत्रका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति प्रमुख एमिर गेलेनले यस सहकार्यले नेपालको पर्यटन सम्भावना उजागर गर्नुका साथै स्थानीय सिर्जनाकर्ता र साना व्यवसायलाई डिजिटल अर्थतन्त्रसँग जोड्न सहयोग पुग्ने बताए।

यसअघि पर्यटन बोर्ड र टिकटकले संयुक्त रूपमा ३०० भन्दा बढी स्थानीय पर्यटन व्यवसायी तथा कन्टेन्ट क्रिएटरलाई डिजिटल स्टोरीटेलिङसम्बन्धी तालिम प्रदान गरिसकेका छन्।

डिजिटल सामग्रीमार्फत नेपालको पर्यटन विश्व बजारसम्म पुर्‍याउने यो अभियानले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय र रोजगारीमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्