ह्याकिङपछि बाइनान्सबाट ३ अर्ब ६४ करोड डलर बाहिरियो, ग्राहकको विश्वासमा चुनौती

insight dainik

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट ठूलो साइबर आक्रमणपछि ग्राहकहरूले एकै दिनमा ३ अर्ब ६४ करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति झिकेका छन्। गत साता भएको इतिहासकै ठूलोमध्ये एक मानिएको साइबर आक्रमणपछि कारोबार बन्द गरेको बाइनान्सले आइतबार सेवा पुनः सञ्चालन गरेसँगै ग्राहकहरूले ठूलो रकम निकाल्न थालेका हुन्।

बाइनान्सका अनुसार नोभेम्बर १ मा बिहान ६ बजेदेखि दिउँसो ३ः३० बजेसम्म ग्राहकहरूले ४ अर्ब ६४ करोड ९० लाख डलर बराबरको सम्पत्ति झिकेका थिए भने सोही अवधिमा १ अर्ब १ करोड डलर बराबरको रकम जम्मा भएको थियो। यसरी जम्मा भएको रकम घटाउँदा एक्सचेन्जबाट खुद ३ अर्ब ६४ करोड डलर बाहिरिएको हो।

कम्पनीले सुरुमा रकम झिक्ने ग्राहकको संख्या तीव्र रूपमा बढे पनि पछि अवस्था सामान्य हुँदै गएको जनाएको छ। बाइनान्सको व्यवस्थापनमा रहेको कुल १७१ अर्ब डलर बराबरको सम्पत्तिको तुलनामा यो निकासी करिब दुई प्रतिशत मात्र रहेको कम्पनीको दाबी छ।

गत साता भएको आक्रमणमा करिब ६ अर्ब ३० करोड डलर बराबरका डिजिटल सम्पत्ति प्रभावित भएका थिए। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) लगायतका निकायले यस साइबर आक्रमणमा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह 'ट्रेडरट्रेटर' अर्थात् 'लाजरस ग्रुप' संलग्न रहेको आरोप लगाएका छन्।

बाइनान्सका प्रारम्भिक अनुसन्धानअनुसार एक इन्जिनियरको ल्यापटपमा पहुँच बनाएर ह्याकरहरूले अनधिकृत कारोबार गर्न सक्ने अवस्था सिर्जना गरेको हुन सक्ने देखिएको छ। यद्यपि घटनाको विस्तृत अनुसन्धान जारी छ।

कम्पनीले प्रभावित ग्राहकको सम्पत्ति फिर्ता गर्न आफ्नो कर्पोरेट कोष, फ्युचर्स बीमा तथा आपत्कालीन सञ्चिति कोष प्रयोग गरेको जनाएको छ। चोरी भएको सम्पत्तिमध्ये करिब ९५ प्रतिशत बराबरको रकम व्यवस्थापन गरिसकेको र बाँकी रकमसमेत पूर्ण रूपमा बेहोर्ने प्रतिबद्धता बाइनान्सले जनाएको छ।

हाल बिटक्वाइन र इथेरियमसहित दुई दर्जनभन्दा बढी प्रमुख क्रिप्टोकरेन्सीको निकासी सेवा पुनः सञ्चालन गरिएको छ। अन्य सेवा भने सुरक्षा परीक्षण पूरा भएपछि चरणबद्ध रूपमा खुला गरिने कम्पनीले जनाएको छ।

यस घटनाले विश्वव्यापी क्रिप्टोकरेन्सी बजारमा साइबर सुरक्षाको जोखिम र डिजिटल सम्पत्तिप्रति ग्राहकको विश्वास कायम राख्ने चुनौतीलाई पुनः उजागर गरेको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्