सेबोनको आईपीओ पाइपलाइनमा ११७ कम्पनी, ७१ अर्बभन्दा बढीको सेयर निष्कासन प्रस्ताव

insight dainik

काठमाडौं, १२ कात्तिक। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिएका ११७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका सेयर निष्कासन प्रस्ताव प्रक्रियामा छन्। यी कम्पनीले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्।

सेबोनले आईपीओ आवेदनको प्रक्रियागत अवस्था स्पष्ट पार्न पहिलोपटक कम्पनीहरूलाई छ चरणमा वर्गीकरण गरेको छ। बोर्डको २०८३ कात्तिक ११ गतेसम्मको विवरणअनुसार अधिकांश कम्पनी प्रारम्भिक चरणमै रहेका छन् भने दुई कम्पनी अन्तिम समीक्षामा पुगेका छन्।

कुन चरणमा कति कम्पनी?

चरण

कम्पनी संख्या

प्रक्रियागत अवस्था

पहिलो

७६

आवेदन प्राप्त भएको अवस्था

दोस्रो

६

प्रारम्भिक समीक्षा

तेस्रो

४

कम्पनीलाई कैफियत तथा थप विवरण माग

चौथो

१९

बोर्डले उठाएका कैफियतको जवाफ प्राप्त

पाँचौँ

१०

प्राप्त जवाफ तथा संशोधित कागजातको समीक्षा

छैटौँ

२

अन्तिम समीक्षा

जम्मा

११७

अन्तिम समीक्षामा आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स

सेबोनको छैटौँ तथा अन्तिम समीक्षा चरणमा आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड पुगेका छन्। आशुतोष इनर्जीले १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्सले १७ लाख कित्ता गरी कुल २९ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। प्रस्तावित निष्कासन रकम कुल २९ करोड रुपैयाँ रहेको छ।

पाँचौँ चरणमा १० कम्पनीका आवेदनको समीक्षा भइरहेको छ। यस समूहमा एनसी एग्रोटेक इन्डस्ट्रिज, सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड र सिउरी न्यादी पावरलगायत कम्पनी छन्।

चौथो चरणमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्याम्स हस्पिटललगायत १९ कम्पनी छन्। उनीहरूले बोर्डले मागेका विवरण वा कैफियतको जवाफ बुझाइसकेका छन्। तेस्रो चरणमा महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट रहेका छन्।

पहिलो चरणमा मारुती सिमेन्ट, अम्बे स्टिल्स र रिद्धिसिद्धि सिमेन्टलगायत ७६ कम्पनीका आवेदन छन्। दोस्रो चरणमा आकामा होटल र अपेक्स मकालु हाइड्रोपावरलगायत छ कम्पनीका आवेदन प्रारम्भिक समीक्षामा छन्।

आईपीओ स्वीकृतिका लागि के पूरा गर्नुपर्छ?

आईपीओ आवेदन दिएपछि कम्पनीले स्वीकृति पाउन आवश्यक कागजात तथा विवरण पूरा गर्नुपर्छ। सेबोनले कम्पनीको वित्तीय विवरण, प्रतिसेयर नेटवर्थ, विवरणपत्र, पुँजी संरचना, निष्कासनसम्बन्धी कानुनी प्रक्रिया र लागू हुने नियामकीय मापदण्ड परीक्षण गर्छ।

जलविद्युत् कम्पनीका हकमा व्यावसायिक उत्पादन सुरु भएको मिति अर्थात् कमर्सियल अपरेसन डेट (सीओडी) समेत परीक्षण गरिन्छ। कम्पनीले आवश्यक विवरण उपलब्ध गराउन नसकेमा वा नियामकीय मापदण्ड पूरा नगरेमा स्वीकृति प्रक्रियामा ढिलाइ हुन सक्छ।

अन्तिम समीक्षा चरणमा पुग्नु पनि आईपीओ निष्कासनको अनुमति प्राप्त हुनु होइन। सेबोनको औपचारिक स्वीकृतिपछि मात्रै कम्पनीले निर्धारित प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि सेयर निष्कासन गर्न सक्छ।

आईपीओ पाइपलाइनमा ठूलो रकमका प्रस्ताव रहे पनि सबै कम्पनीको निष्कासन एकैपटक हुने निश्चित छैन। कम्पनीहरूको कागजात, वित्तीय अवस्था र नियामकीय परीक्षणको नतिजाले नै स्वीकृतिको प्रक्रिया निर्धारण गर्नेछ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्