काठमाडौं, ६ कात्तिक। इन्टरनेटका ठूला हिस्सामा प्रयोग हुँदै आएको प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि विश्वभरका सरकारी निकाय, प्रविधि कम्पनी र वेबसाइट सञ्चालकलाई तत्काल सुरक्षा अपडेट गर्न निर्देशन दिइएको छ। जोखिम न्यूनीकरणका लागि केही देशका सरकारी वेबसाइट तथा लोकप्रिय अनलाइन सेवासमेत अस्थायी रूपमा बन्द गरिएका छन्।
बीबीसीका अनुसार बुधबार सार्वजनिक गरिएको सुरक्षा चेतावनीपछि फिनल्यान्ड सरकारले आफ्ना सार्वजनिक वेब सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। नेदरल्यान्ड्सका साइबर सुरक्षा निकायले पनि आफ्ना केही वेबसाइट अफलाइन राखेका छन्। बेलायतको एडिनबरा नगर परिषद् तथा बीबीसीका केही कार्यक्रमसम्बन्धी वेबसाइटमा समेत पहुँच अवरुद्ध भएको उल्लेख छ। यद्यपि, ती सबै वेबसाइट बन्द हुनुको कारण पीएचपीकै कमजोरी हो भन्ने पुष्टि भइसकेको छैन।
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए), बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एनसीएससी) तथा युरोपेली साइबर सुरक्षा निकायहरूले तत्काल सुरक्षा सुधार गर्न आग्रह गरेका छन्। समयमै कमजोरी सच्याउन नसक्ने संस्थालाई जोखिमपूर्ण प्रणाली अस्थायी रूपमा अफलाइन राख्नसमेत सुझाव दिइएको छ।
साइबर सुरक्षा अनुसन्धानकर्ता कम्पनी क्यालिफ र विजले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा यी कमजोरी पहिचान गरेका हुन्। ओपनएआईको ‘प्याच द प्लानेट’ कार्यक्रमअन्तर्गत अनुसन्धानकर्तालाई उन्नत एआई उपकरण प्रयोग गरी सफ्टवेयरका कमजोरी पत्ता लगाउने अवसर दिइएको थियो।
सुरक्षा विज्ञहरूका अनुसार यस्ता कमजोरीको दुरुपयोग भएमा आक्रमणकारीले प्रयोगकर्ताको प्रमाणीकरणबिना नै टाढाबाट सर्भरमा हानिकारक कोड चलाउन सक्ने जोखिम हुन्छ। यसबाट वेबसाइटको फाइल प्रणाली वा डेटाबेसमा अनधिकृत पहुँच, मालवेयर स्थापना तथा सेवा अवरुद्ध हुने खतरा रहन्छ।
विजले इन्टरनेटका करिब ७० प्रतिशत हिस्सामा यसको प्रभाव पर्न सक्ने अनुमान गरेको छ। तर, बीबीसीले उक्त आँकडाको स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ। पीएचपी फाउन्डेसनले सुरक्षा सुधारसम्बन्धी अपडेट जारी गरे पनि पुराना संस्करण प्रयोग गर्ने संस्थालाई नयाँ समर्थित संस्करणमा स्तरोन्नति गर्न आग्रह गरिएको छ।
पीएचपी वर्डप्रेस, ड्रुपल र जुम्लाजस्ता सामग्री व्यवस्थापन प्रणालीसहित अनेक वेबसाइट तथा सर्भरमा प्रयोग हुन्छ। त्यसैले वेबसाइट सञ्चालकले आफ्ना प्रणालीमा पीएचपी कहाँ–कहाँ चलिरहेको छ भन्ने पहिचान गरी अपडेट लागू गर्न र सम्भावित साइबर आक्रमणका संकेत निगरानी गर्न आवश्यक छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्