"गल्ती प्रमाणित भए सरकारले छोड्दैन" — पूर्वगृहमन्त्री सुदन गुरुङको प्रतिक्रिया, छानबिन समिति गठन

nepal news portal

काठमाडौं, जेठ २ — तत्कालीन गृहमन्त्री तथा सांसद सुदन गुरुङले आफू विरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन्। उनले भने — "गल्ती गरेको प्रमाणित भए सरकारले छोड्दैन र त्यो हुनुपनि हुँदैन।"

शेयर लगानी र मनी लाउन्डरिङ अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँगको कथित सम्बन्धका कारण गुरुङले राजीनामा दिए। राजीनामा दिँदै उनले भने — "मेरो विरुद्धका विषयको निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न र पदमा रहँदा हितको द्वन्द्व नहोस् भन्ने उद्देश्यले मैले तत्काल प्रभावले गृहमन्त्री पदबाट राजीनामा दिएको छु।"

के थियो विवाद?

चैत २९ गते मन्त्रिपरिषद्को सम्पत्ति विवरण सार्वजनिक भएपछि गुरुङका सम्पत्तिले तुरुन्त विवाद निम्त्यायो। उनले ४३ लाख १० हजारभन्दा बढीको शेयर, ८९ तोला सुन, ६ किलो चाँदी, ६१ लाखभन्दा बढी नगद र धनकुटामा जमिन घोषणा गरेका थिए। एक सामाजिक कार्यकर्तासँग यति सम्पत्तिको स्रोत के हो भन्ने प्रश्न उठ्यो।

विशेष गरी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा उनको शेयर लगानी र अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँगको सम्बन्धले सबैभन्दा बढी तरङ्ग ल्यायो। उनको सम्पत्ति विवरणमा यी दुई कम्पनीका शेयर उल्लेख नगरिएको भन्ने आरोप लाग्यो।

गुरुङको सफाइ

गुरुङले आफ्नो बचाउमा भने — "शेयर किन्नु भनेको साझेदार हुनु होइन। यो तर्कलाई आधार मान्ने हो भने एउटै कम्पनीमा लगानी गरेका सबैलाई दोषी ठहर्‍याउनु पर्ने हुन्छ, जुन न्यायसंगत छैन।"

छानबिन समिति गठन

मन्त्रिपरिषद् बैठकमा पूर्वगृहमन्त्री सुदन गुरुङको कार्यकाल र त्यसपछि सार्वजनिक भएका विषयहरूको छानबिन गर्न समिति गठन गरेको छ। पूर्व उच्च अदालतका न्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा बनेको यो समितिमा महालेखानियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।