कपिलवस्तुमा जबरजस्ती करणीको आरोपलाई कानुनी प्रक्रियाबाट बचाउन जग्गा विवादको स्वरूप दिएर मिलापत्र गराउने प्रयास गरिएको घटनामा एक पूर्ववडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गम्भीर प्रकृतिको फौजदारी मुद्दा आपसी सहमतिमा मिलाउन खोजिएको भन्दै प्रहरीले सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यशोधरा गाउँपालिका–५ की ३३ वर्षीया महिलाले आफूलाई गत वैशाख २१ गते जबरजस्ती करणी गरिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरी दर्तापछि प्रहरीले आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरी कानुनी प्रक्रिया अगाडि बढाएको थियो।
अनुसन्धानका क्रममा घटनालाई दबाउन पीडित पक्ष र आरोपित पक्षबीच जग्गासम्बन्धी विवाद रहेको भन्दै सहमति गराइएको खुलेको प्रहरीले जनाएको छ। उक्त सहमतिमा यशोधरा गाउँपालिका–५ का पूर्ववडाध्यक्ष लइस पठानले मुख्य भूमिका खेलेको आरोप छ। मिलापत्रको कागज तयार गर्ने रामवृक्ष कोहार, आरोपितका बुवा मोहम्मद सफिक पठान तथा पीडित महिलाकी आमालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार जबरजस्ती करणीजस्तो गम्भीर अपराध नेपालको कानुनअनुसार मिलापत्र गर्न नपाइने मुद्दा हो। यस्तो मुद्दालाई दबाउन वा सहमतिमार्फत टुंग्याउने प्रयास गर्नु आफैंमा गैरकानुनी कार्य मानिन्छ।
घटनाको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो। त्यसपछि सम्बन्धित व्यक्तिहरू जिल्ला प्रहरी कार्यालय पुगेर मुद्दा फिर्ता गरिदिन आग्रह गरेपछि थप शंका उत्पन्न भएको थियो।
प्रहरीले पक्राउ परेका चारै जनामाथि न्याय प्रक्रियामा अवरोध पुर्याउने र गम्भीर अपराध लुकाउने प्रयास गरेको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।