अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेको फिफा विश्वकप २०२६ को फाइनल खेलमा विश्वप्रसिद्ध गायिका Madonna, Shakira र दक्षिण कोरियाली के–पप समूह BTS ले संयुक्त रूपमा विशेष हाफटाइम शो प्रस्तुत गर्ने भएका छन्।
फिफा विश्वकपको इतिहासमा पहिलोपटक सुपर बाउल शैलीको हाफटाइम मनोरञ्जन कार्यक्रम समावेश गर्न लागिएको हो। प्रतियोगिताको फाइनल जुलाई १९ मा MetLife Stadium मा हुनेछ। कार्यक्रम करिब ११ मिनेट लामो हुने बताइएको छ।
शकिराले यस विश्वकपका लागि तयार पारेको आधिकारिक गीत ‘Dai Dai’ सार्वजनिक गर्ने तयारीमा छिन्। यस गीतमा नाइजेरियाली कलाकार Burna Boy को पनि सहभागिता रहेको छ। यसअघि उनले सन् २०१० को दक्षिण अफ्रिका विश्वकपका लागि चर्चित गीत ‘Waka Waka (This Time for Africa)’ गाएकी थिइन्।
‘क्वीन अफ पप’ भनेर चिनिने म्याडोनाले आफ्नो नयाँ एल्बम ‘Confessions II’ जुलाई ३ मा सार्वजनिक गर्ने तयारी गरिरहेकी छन्। उता बीटीएसले अनिवार्य सैनिक सेवा पूरा गरेपछि पुनः सांगीतिक गतिविधिमा फर्कँदै विश्व भ्रमणको बीचमा विश्वकप फाइनलमा प्रस्तुति दिनेछन्।
फिफा अध्यक्ष Gianni Infantino ले यस कार्यक्रमलाई “विश्वकै सबैभन्दा ठूलो खेल महोत्सवअनुकूल ऐतिहासिक क्षण” बताएका छन्। Chris Martin को संयोजनमा हुने यो कार्यक्रमबाट संकलित रकम शिक्षा क्षेत्रमा सहयोग पुर्याउने Global Citizen अभियानमा प्रयोग गरिनेछ ।