लालीबजार विवाद : इजलासमै हुलहुज्जत गर्न खोजेपछि अभियन्ता डा. रोशनी वादी पक्राउ

nepal news portal

काठमाडौं — सर्वोच्च अदालतको इजलासभित्रै होहल्ला र अवरोध सिर्जना गर्न खोजेपछि अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अदालतको शान्ति र मर्यादा भंग हुने अवस्था देखिएपछि सुरक्षामा खटिएका प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार सर्वोच्च अदालतमा चलचित्र ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ चलिरहेका बेला वादीले इजलासमा असहज अवस्था सिर्जना गर्न खोजेकी थिइन्। त्यसपछि अदालतको सुरक्षालाई ध्यानमा राख्दै उनलाई नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।

डा. वादीले उक्त चलचित्रले सामाजिक तथा सांस्कृतिक संवेदनशीलतामा असर पुर्‍याउने दाबी गर्दै फिल्म प्रदर्शन रोक्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। सोही रिटमाथिको सुनुवाइका क्रममा विवाद उत्पन्न भएको बताइएको छ।

अदालत परिसरमा उपस्थित केही कानुन व्यवसायी र सेवाग्राहीका अनुसार सुनुवाइका क्रममा वादीले चर्को विरोध जनाउँदै प्रक्रिया अवरुद्ध गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि सुरक्षाकर्मी सक्रिय भएर उनलाई नियन्त्रणमा लिएका हुन्। घटनापछि केही समय अदालत परिसरमा चासो र हलचलसमेत बढेको थियो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अदालतको कार्यसम्पादनमा अवरोध पुर्‍याउने गतिविधिलाई कानुनअनुसार हेर्ने तयारी भइरहेको प्रहरी स्रोतले बताएको छ। यद्यपि डा. वादी पक्षले भने आफ्नो विरोधलाई न्यायको आवाजका रूपमा व्याख्या गर्दै आएको छ।

चलचित्र ‘लालीबजार’लाई लिएर पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म विभिन्न प्रतिक्रिया देखिँदै आएका छन्। अदालतको आगामी निर्णयले यस विषयलाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ।