काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर परीक्षणमा तोकिएको मापदण्ड पूरा गर्न नसकेपछि यशोदा फुड्स प्रालिले उत्पादन गरेका ‘करेन्ट’ नुडल्स र ‘लाली’ चाउचाउसहित एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिको ‘ज्याकन्याक’ क्रेकर्स बिस्कुट तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले नियमित बजार अनुगमन तथा प्रयोगशाला परीक्षणका क्रममा यी खाद्य वस्तुमा आवश्यक गुणस्तर मापदण्ड पूरा नभएको जनाएको हो। विभागका अनुसार १०० ग्राम प्याकेटमा बिक्री भइरहेको करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउमा खाद्य गुणस्तर परीक्षणका क्रममा ‘एक्स्ट्र्याक्टेड फ्याटको एसिड भ्यालु’ सरकारद्वारा निर्धारित मापदण्डअनुसार नपाइएको भेटिएको छ। यो सूचकले खाद्य पदार्थमा प्रयोग भएको तेल वा बोसोको गुणस्तर र सुरक्षित अवस्थालाई संकेत गर्छ।
त्यसैगरी एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ज्याकन्याक क्रेकर्स बिस्कुट पनि परीक्षणमा गुणस्तरहीन देखिएपछि विभागले उक्त उत्पादन बजारबाट तुरुन्त हटाउन आदेश दिएको छ।
विभागले सम्बन्धित उद्योगलाई उत्पादन फिर्ता गरी आवश्यक सुधार गर्न निर्देशन दिएको छ। साथै उपभोक्तालाई पनि यस्ता उत्पादन खरिद गर्दा लेबल, गुणस्तर चिन्ह र उत्पादन विवरण ध्यानपूर्वक हेर्न आग्रह गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री हुने खाद्य वस्तुको नियमित परीक्षणलाई निरन्तरता दिइरहेको बताउँदै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने गुणस्तरहीन उत्पादनमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ।