विश्वप्रसिद्ध इमेल सेवा Google ले नयाँ जीमेल खातामा दिँदै आएको १५GB निःशुल्क क्लाउड स्टोरेज घटाएर ५GB मा सीमित गर्ने परीक्षण सुरु गरेको पुष्टि गरेको छ। प्रविधि सम्बन्धी समाचार वेबसाइट Android Authority का अनुसार केही क्षेत्रका नयाँ प्रयोगकर्तामाथि यो परीक्षण लागू गरिएको हो।
रिपोर्टअनुसार, नयाँ जीमेल खाता खोल्ने प्रयोगकर्तालाई सुरुवातमा केवल ५GB स्टोरेज मात्र उपलब्ध गराइएको छ। तर यदि प्रयोगकर्ताले आफ्नो फोन नम्बर खातासँग जोड्छ भने पूर्ण १५GB निःशुल्क स्टोरेज “अनलक” हुने व्यवस्था गरिएको छ। गुगलले यस कदमलाई सुरक्षा र डाटा रिकभरी सुधार गर्ने उद्देश्यले गरिएको परीक्षण भनेको छ।
कम्पनीले जारी गरेको वक्तव्यमा “उच्च गुणस्तरको स्टोरेज सेवा निरन्तर उपलब्ध गराउन तथा खाताको सुरक्षा सुदृढ गर्न” यस्तो नीति परीक्षण गरिएको उल्लेख गरिएको छ। यद्यपि धेरै प्रयोगकर्ताले यसलाई व्यक्तिगत डाटा संकलन गर्ने नयाँ रणनीतिको रूपमा आलोचना गरेका छन्।
सामाजिक सञ्जाल रेडिटमा सार्वजनिक भएको स्क्रिनसटपछि यो विषय चर्चामा आएको हो। केही प्रयोगकर्ताले “निःशुल्क सेवा” को नाममा फोन नम्बर माग्नु गोपनीयतामाथि हस्तक्षेप भएको बताएका छन् भने अरूले स्पाम तथा नक्कली खाता नियन्त्रणका लागि यस्तो कदम आवश्यक हुन सक्ने प्रतिक्रिया दिएका छन्।
हालसम्म पुराना जीमेल खातामा भने कुनै परिवर्तन देखिएको छैन। फोन नम्बर नजोडिएका पुराना खाताले अझै पनि १५GB निःशुल्क स्टोरेज पाइरहेका छन्। गुगलको आधिकारिक सहायता पृष्ठमा समेत १५GB निःशुल्क स्टोरेजकै जानकारी कायम रहेको छ।
यो नीति स्थायी रूपमा लागू हुने वा सीमित परीक्षणमै रहने भन्ने विषयमा गुगलले स्पष्ट घोषणा गरेको छैन। तर भविष्यमा जीमेल सेवा प्रयोग गर्न थप व्यक्तिगत जानकारी अनिवार्य बन्न सक्ने संकेतका रूपमा यसलाई हेरिएको छ।