बिहार सीमाक्षेत्रमा नेपालविरुद्ध असन्तोष, भारतीय व्यापारीद्वारा प्रदर्शन

nepal news portal

भारतको बिहारसँग जोडिएका नेपाल सीमावर्ती बजारहरूमा नेपाल सरकारले लागू गरेको कडा भन्सार नियमविरुद्ध भारतीय व्यापारी तथा स्थानीय व्यवसायीहरूले विरोध जनाउन थालेका छन्। विशेषगरी रक्सौल, जोगबनी तथा अन्य सीमावर्ती बजार क्षेत्रमा नेपाली ग्राहक घटेपछि भारतीय व्यापारमा प्रत्यक्ष असर परेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।

नेपाल सरकारले भारतबाट ल्याइने सामानमा ५ प्रतिशतदेखि ८० प्रतिशतसम्म भन्सार शुल्क कडाइका साथ लागू गरेपछि सीमाक्षेत्रको व्यापार सुस्त बनेको बताइएको छ। दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, औषधि, मोबाइल सामग्री तथा विवाहजन्य किनमेलका लागि नेपालबाट भारत आउने ग्राहक संख्या उल्लेखनीय रूपमा घटेको भारतीय व्यापारीहरूको भनाइ छ।

भारतीय सञ्चारमाध्यम ‘टाइम्स अफ इन्डिया’का अनुसार बिहारका सीमावर्ती बजारहरूमा व्यापार घटेपछि व्यापारीहरूले विरोध प्रदर्शन गर्दै नेपाल सरकारको निर्णय पुनरावलोकन गर्न माग गरेका छन्। जोगबनीका व्यापारी रमेश पोद्दारले सामान्य घरायसी किनमेलमै नेपाली १०० रुपैयाँको सीमा नाघ्ने भएकाले ग्राहकहरू घण्टौं लाइनमा बस्न बाध्य भएको बताएका छन्।

व्यापारीहरूका अनुसार नेपालतर्फ कडा जाँच सुरु भएपछि धेरै नेपाली ग्राहकले किनमेल घटाएका छन् भने कतिपय खाली हात फर्किने अवस्था बनेको छ। यसले बिहारका साना पसले, ढुवानी व्यवसायी, रिक्सा चालक तथा स्थानीय बजारलाई समेत असर पारेको बताइएको छ।

सीमावर्ती क्षेत्रका व्यापारी संगठनहरूले खुला सीमा व्यवस्थाको भावना विपरीत हुने गरी अत्यधिक कडाइ नगर्न नेपाल सरकारलाई आग्रह गरेका छन्। यदि नियम फिर्ता नभए अझ ठूलो आन्दोलन गर्ने चेतावनीसमेत केही व्यापारी समूहले दिएका छन्।