उपत्यकामा अवैध कन्सल्टेन्सीमाथि प्रहरीको ठूलो कारबाही, ६९ सञ्चालक पक्राउ

nepal news portal

काठमाडौं, जेठ २ । काठमाडौं उपत्यकामा दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) विरुद्ध प्रहरीले ठूलो कारबाही गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार विशेष अपरेसन सञ्चालन गर्दै विभिन्न १५ वटा कन्सल्टेन्सीबाट ६९ जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार ती शैक्षिक परामर्श केन्द्रहरूले सरकारले तोकेको कानुनी प्रक्रिया पूरा नगरी विदेश अध्ययनका लागि पूर्वतयारी कक्षा, भाषा शिक्षण तथा अन्य शैक्षिक सेवा सञ्चालन गरिरहेका थिए। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ विपरीत कार्य भइरहेको पाइएपछि अनुसन्धान अघि बढाइएको जानकारी दिए।

अनुसन्धानका क्रममा धेरै कन्सल्टेन्सीले वैधानिक दर्ता, नवीकरण र आवश्यक अनुमति नलिई विद्यार्थीलाई विदेश पठाइदिने आश्वासनसहित सेवा सञ्चालन गरिरहेको खुलेको छ। केही संस्थाविरुद्ध विद्यार्थी तथा अभिभावकबाट ठगी, गलत सूचना दिने, अत्यधिक शुल्क असुल्ने र भिसा प्रक्रियामा भ्रम सिर्जना गर्ने सम्बन्धी उजुरीसमेत परेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका सञ्चालकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, आफू ठगिएको वा आर्थिक क्षति बेहोरेको महसुस गर्ने विद्यार्थी तथा अभिभावकलाई कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ।

पछिल्लो समय विदेश अध्ययनप्रति नेपाली युवाको आकर्षण बढेसँगै उपत्यकामा कन्सल्टेन्सी व्यवसाय तीव्र रूपमा फैलिएको छ। तर नियमनको अभाव, कमजोर अनुगमन र अवैध रूपमा सञ्चालन भइरहेका संस्थाका कारण विद्यार्थी तथा अभिभावक जोखिममा पर्ने अवस्था देखिएको छ। प्रहरीको यो कारबाहीलाई शैक्षिक क्षेत्रमा बढ्दो विकृति नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ।