आज सेतो मछिन्द्रनाथ रथयात्रा

nepal news portal

एकदिन यमलोकमा यमराज भगवानले सबै दूतहरूलाई बोलाएर भन्नुभयो,

हे दूत! पृथ्वी मण्डलमा बस्ने प्राणीहरू मृत्यु भएपछि धर्म कमाएकाहरूलाई स्वर्गमा लैजानु र पाप कमाएकाहरूलाई पाशले बाँधेर नर्कमा ल्याउनु। उनीहरूले गरेका पापअनुसार १६ वटा नर्कलोक छन्। पापअनुसार अघोर सास्ती दिई नर्क भोग गराउनु। यसरी आज्ञा दिएपछि दूतहरू पृथ्वी मण्डलमा यताउता खोजी गर्न थाले। नेपाल क्षेत्रमा पनि पापीहरू छन् कि भनेर खोज्न थाले। तर यहाँका मानिसहरू मृत्यु पछि पनि श्री ईश्वरको अनुग्रहका कारण, प्राणवायु शून्य भए तापनि, प्रायः सबै सुखावती भुवनमा वास गरेको देखे। त्यसैले दूतहरूले एक जना पनि पापीलाई यमलोकमा लैजान सकेनन् र फर्केर यमराजसमक्ष नेपालको बारेमा विन्ती चढाउन पुगे। दूतहरूको यस्तो आश्चर्यजनक कुरा सुनेपछि यमराजले “कुन ईश्वरको प्रभावले यस्तो भएको हो?” भन्ने जान्न उत्सुक भई समाधिमा बसेर सुटुक्क नेपालतर्फ प्रस्थान गर्नुभयो।

नेपालमा आइपुग्दा यमराजले त्यहाँ जन्मिएका प्राणीहरूलाई श्री स्वयम्भु ज्योतिर्मय भगवानको नित्य भावभक्ति गर्दै पञ्चोपचार पूजा तथा स्तोत्र पाठ गरिरहेको देख्नुभयो। यो देखेर यमराजले चित्रगुप्तलाई आज्ञा दिँदै आफ्ना सबै दूतहरू—काग, सिंह, आत्माराम, चील जस्ता विभिन्न अनुहार भएका—लाई बाजागाजासहित, नरकमा रहेका सम्पूर्ण लावालस्करसहित, नेपालमा विराजमान श्री स्वयम्भु भगवानको दर्शन एवं पूजा गर्न बोलाउनुभयो। नेपालमा बस्ने स्थानीय जनहरूले कहिल्यै नदेखेका यस्ता अनौठा स्वरूपका अद्भुत प्राणीहरू देखेर आश्चर्य माने। कतिपयले भूत–प्रेत वा पिशाच हुन् कि भन्ने शंका गरे। तर उनीहरू नडराई विनम्रतापूर्वक बिन्ती चढाउँदै भन्न थाले,

“आश्चर्य! तपाईंहरू को हुनुहुन्छ? हामीले तपाईंहरूलाई कहिल्यै देखेका छैनौँ।”

त्यसपछि यमराज र दूतहरूले आफ्नो वास्तविक परिचय दिँदै स्वयम्भु भगवानको पूजा गर्न थाले।उता दरबारमा पनि यस्तो अद्भुत प्राणीहरू स्वयम्भुको दर्शन गर्न आएको समाचार राजा यक्ष मल्लसमक्ष प्रस्तुत गरियो। मृत्यु पश्चात् पाशले बाँधेर सास्ती गर्दै नर्क लैजाने यमराज र उनका दूतहरू नै नेपालमा स्वयम्भु दर्शन गर्न आएको कुरा राजा र प्रजागण सबैले थाहा पाएपछि, प्रजाहरूको आग्रहअनुसार राजाले यमराजलाई दरबारमा भोजनका लागि निमन्त्रणा गर्ने निर्णय गर्नुभयो। यसै अवसरमा सधैँ जवान, तरुण रहन पाउने र निरोगी रहने वरदान माग्ने विचार पनि बनाइयो। त्यसका लागि दरबारमा सबै बन्दोबस्त गर्न थालियो।

राजाको आग्रह अस्वीकार गर्न नसकी यमराजले निमन्त्रणा स्वीकार गर्नुभयो र दरबारमा भोजन गर्न बस्नुभयो। तर यता राजाले यमराज फर्कन नपाओस् भन्ने हेतुले बज्रपाणीको आराधना गरी दिग्बन्धन गरेर उनलाई रोकिदिनुभयो। प्रजागण सबै दरबारमा भेला भए। त्यसपछि राजाले यमराजसमक्ष आग्रह गर्दै भन्नुभयो—

“यस नेपालमण्डलमा बस्ने सबै प्राणी सधैँ निरोगी रहून्, कहिल्यै नमरून्, सधैँ जवान रहून्, कहिल्यै बूढाबूढी नहून्।”

राजाको यस्तो आश्चर्यजनक वरदान माग सुनेपछि यमराजले भन्नुभयो कि यस्तो प्रकारको वरदान दिने अधिकार आफूलाई नभएको र आफूले यसलाई पूरा गर्न नसक्ने। तर राजाले फेरि बिन्ती चढाउँदै भने—

“यदि यस्तो वरदान दिनुहुन्छ भने मात्र तपाईंलाई जान दिइनेछ, नत्र बज्रपाणीको दिग्बन्धनका कारण तपाईं र तपाईंका दूतहरू यहाँबाट जान सक्नुहुन्न।”

यमराज ठूलो संकटमा पर्नुभयो। उहाँले यस्तो वरदान केवल सुखावती भुवनमा बस्ने श्री करुणामयले मात्र दिन सक्ने र आफूले दिन नसक्ने बताउँदै आफूलाई बिदा गर्न आग्रह गर्नुभयो। तर राजाले त्यसो भए श्री करुणामयलाई नै आफ्नो सामु बोलाउन आग्रह गर्दै अडान लिनुभयो। लाचार भएर यमराजले नतमस्तक हुँदै श्री करुणामयलाई स्मरण गर्दै प्रार्थना गर्नुभयो—

“हे गुरु करुणामय! यहाँ म ठूलो संकटमा परेको छु। राजा यक्ष मल्लले अद्भुत वरदान मागेका छन्। यस्तो वरदान म दिन सक्दिन। कृपया प्रकट भई मप्रति करुणा गरी मलाई मुक्त गर्नुहोस्।”

यमराजको विन्ती सुनेर श्री आर्य अवलोकितेश्वर करुणामय सुखावती भुवनबाट आकाशमार्ग हुँदै राजा यक्ष मल्लले शासन गर्ने जमः देशमा रहेको राजाको नित्य स्नान गर्ने पोखरीमा प्रकट हुनुभयो। उहाँले अमिताभको शिर धारण गरी दायाँ हातबाट अभयदान दिँदै बायाँ हातमा कमलको फूल समातेका अवस्थामा दर्शन दिनुभयो। यमराजले पोखरीबाट सेतो अनुहारको रूपमा प्रकट भएको देखेर आश्चर्य मान्दै बिन्तीभावपूर्वक उहाँलाई जमलेश्वर भनेर सम्बोधन गर्दै सिंहासनमा विराजमान गराए र राजालाई परिचय गराए—

“यी नै तपाईंलाई वरदान दिन सक्ने देवता हुनुहुन्छ।”

त्यसपछि राजालाई वरदान माग्न भनियो। राजाले आफूले मागेको वरदान यमराजले दिन नसकेको र आफ्ना प्रजाहरूको हित हुने वरदान पूरा गरिदिन अनुरोध गरे। श्री आर्य अवलोकितेश्वर करुणामयले राजा तथा सम्पूर्ण प्रजाको मुहार हेर्दै भन्नुभयो—

“जहाँसम्म म प्रकट भएको यस पोखरीको पानी फैलिन्छ, त्यो स्थान ‘कालमोचन’ नामले प्रसिद्ध हुनेछ। उक्त तीर्थमा स्नान गर्ने प्राणीहरूको काल हट्नेछ र स्वास्थ्य राम्रो हुनेछ।”

साथै, बागमती र कालामतीको संगमलाई ‘बंगः’ नामले चिनिने बताउँदै, आफू त्यस क्षेत्रमा विराजमान हुन इच्छुक रहेको जनाउँदै विहार निर्माण गरी पूर्वमुख दिशामा स्थापना गर्न आदेश दिनुभयो। कालमोचनमा स्नान गरी मेरो दर्शन गर्नेहरूको स्वास्थ्य राम्रो हुनेछ र दीर्घकालीन रोगले ग्रसित प्राणीहरूको रोग निको हुनेछ भन्ने आज्ञा दिनुभयो। करुणामयको यस्तो आज्ञा सुनेर यमराजले पनि उक्त तीर्थसँग आफ्नो पहिचान जोड्ने इच्छा व्यक्त गर्दै कालमोचन तीर्थसँगै यमलेश्वर नामले स्थापित हुनुभयो। त्यसपछि यमराज फर्कनुभयो।

करुणामयको उपस्थितिमै राजा यक्ष मल्लले आफ्ना पुत्र रत्न मल्ललाई राज्याभिषेक गर्नुभयो। त्यसपछि राजा यक्ष मल्लले आफ्ना प्रजासहित कालमोचन तीर्थको किनारमा करुणामयका लागि विहार निर्माण गराउनुभयो र साथै आफू बस्न दरबार पनि निर्माण गराउनुभयो। राजाको यस कार्यबाट प्रसन्न भई करुणामयले भन्नुभयो—

“जो कोही यस विहारमा आई नित्य पूजा र दर्शन गर्छ, त्यो प्राणी निरोगी हुनेछ र पूर्ण आयु प्राप्त गर्नेछ। जसले श्रद्धापूर्वक धारणी गरी आयु–साधना गर्छ, उसको रोग क्षणभरमै शान्त हुनेछ। जीवनको अन्त्य भएमा सुखावती भुवनमा वास हुनेछ।”

साथै, उहाँले विशेष रूपमा आज्ञा दिनुभयो—

“चल्न नसक्ने, अशक्त, हातखुट्टा नहुने वा घरमै बस्न बाध्य रोगीहरूको लागि रथयात्रा गरी मेरो दर्शन गराउनु । यसरी दर्शन गराउँदा सबैको रक्षा र कल्याण हुनेछ। मेरो उत्पत्ति भएको स्थानबाट नै रथयात्रा सञ्चालन ।”

करुणामयको यस्तो आज्ञा पाएपछि राजाले सम्पूर्ण व्यवस्था गर्ने प्रतिज्ञा गर्दै करुणामय प्रकट भएको स्थान जमलबाट रथयात्रा सञ्चालन गर्ने व्यवस्था मिलाए। साथै आबस्स्यक आय-ब्यबस्थापन गरि धार्मिक परम्परालाइ ब्यबस्थित रुपमा संचालन गर्न लागे | केही समयपछि राजा यक्ष मल्लले निर्वाण प्राप्त गर्नुभयो। त्यसपछि उनका पुत्र रत्न मल्लले जम देश र वाका देशलाई एकीकृत गरी ‘ये दे’ अर्थात् ‘कान्तिपुर’ नामकरण गरे।

श्रोत : जनबहा:द्य: या बाखं, कमलमानन्द बज्राचार्य पुस्तकबाट सारांश अनुवादित