कोलम्बियाकी चर्चित गायिका शाकिराले स्पेनको कर निकायविरुद्धको मुद्दामा ठूलो कानुनी सफलता हासिल गरेकी छन्। म्याड्रिडको एक अदालतले स्पेनको कर प्रशासनले गलत रूपमा जरिवाना लगाएको ठहर गर्दै शाकिरालाई करिब ५५ मिलियन युरो फिर्ता दिन आदेश दिएको हो।
स्पेनको राष्ट्रिय अदालत ‘अडिएन्सिया नासियोनाल’ ले सोमबार दिएको निर्णयअनुसार कर निकायले सन् २०११ मा शाकिरा स्पेनमा आवश्यकभन्दा बढी समय बसेको प्रमाणित गर्न सकेन। स्पेनको कानुनअनुसार कुनै व्यक्ति एक वर्षमा १८३ दिनभन्दा बढी देशभित्र बसेमा त्यहाँ आयकर तिर्नुपर्ने हुन्छ। अदालतले भने शाकिरा उक्त वर्ष केवल १६३ दिन मात्रै स्पेनमा रहेको निष्कर्ष निकालेको छ।
यो विवाद त्यतिबेला सुरु भएको थियो जब स्पेनको कर निकायले शाकिराले आवश्यक कर नतिरेको आरोप लगाउँदै ठूलो जरिवाना लगाएको थियो। अदालतले अब उक्त रकमसँगै ब्याज र कानुनी खर्चसमेत फिर्ता गर्न आदेश दिएको छ।
हालैको निर्णयपछि शाकिराले आफूले आठ वर्षभन्दा बढी समय सार्वजनिक अपमान, मानसिक तनाव र प्रतिष्ठामाथिको आक्रमण सहनुपरेको बताएकी छन्। उनले अदालतको निर्णयले आफूले कुनै धोखाधडी नगरेको प्रमाणित गरेको प्रतिक्रिया दिएकी छन्।
यद्यपि अदालतले यो फैसला केवल सन् २०११ को कर मुद्दासँग सम्बन्धित रहेको स्पष्ट पारेको छ। यसअघि सन् २०२३ मा शाकिराले सन् २०१२ देखि २०१४ सम्मको कर विवादमा स्पेनका सरकारी वकिलसँग सम्झौता गर्दै करिब १४.५ मिलियन युरो कर नतिरेको आरोप स्वीकार गरेकी थिइन्। त्यसबेला उनले जेल सजाय टार्न अतिरिक्त जरिवाना पनि तिरेकी थिइन्।