हुम्लाको चङ्खेली गाउँपालिकामा गएराति परेको असिनापानीपछि आएको पहिरोले एक विद्यालय भवन बगाउँदा स्थानीय बासिन्दा त्रसित बनेका छन्। चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा खसेको पहिरोले डाँफे आधारभूत विद्यालयमा ठूलो क्षति पुगेको हो। लगातारको वर्षासँगै अचानक परेको असिनाले जमिन कमजोर बनेपछि पहिरो खसेको स्थानीयले बताएका छन्।
स्थानीयवासीका अनुसार पहिरोले विद्यालय भवन मात्र होइन, आसपासका खेतीयोग्य जमिन र गोठसमेत पुरेको छ। पहिरोका कारण गाउँका केही परिवार विस्थापनको जोखिममा परेका छन्। चङ्खेली–५ का बासिन्दा छक्कबहादुर तामाङका अनुसार रातिको समयमा ठूलो आवाजसहित पहिरो झरेपछि गाउँभर त्रास फैलिएको थियो। उनले विद्यालयसँगै पशुचौपाया राखिएका गोठमा पनि क्षति पुगेको बताए।
वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठ पहिरोले पुरिएको जनाइएको छ। गोठभित्र रहेका भेडाबाख्राको अवस्थाबारे यकिन विवरण आउन बाँकी रहेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाले घटनापछि प्रहरी टोली प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ। प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार पहिरो प्रभावित क्षेत्र दुर्गम भएकाले उद्धार तथा क्षतिको विवरण संकलन गर्न समय लागिरहेको छ।
नेप्का गाउँ गाउँपालिकाको केन्द्र पिप्लाङबाट टाढा पर्ने भएकाले त्यहाँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने अवस्था छ। दुर्गम भौगोलिक अवस्थाका कारण तत्काल राहत तथा उद्धार कार्यमा चुनौती थपिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
स्थानीयले वर्षायाम सुरु नहुँदै प्राकृतिक विपद्का घटना बढ्न थालेको भन्दै जोखिमयुक्त बस्तीको संरक्षण, तटबन्ध र पहिरो नियन्त्रणका दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। लगातार बदलिँदो मौसम र असामान्य वर्षाका कारण हिमाली जिल्लामा विपद्का घटना बढ्दै गएको भन्दै स्थानीय प्रशासनलाई पूर्वतयारीमा ध्यान दिन आग्रह गरिएको छ।