काभ्रेको नमोबुद्ध क्षेत्रमा बर्डफ्लु पुष्टि, सतर्कता बढाउन स्थानीय प्रशासनको आग्रह

nepal news portal

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका क्षेत्रमा मरेका कागमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा किसानलाई आग्रह गरेको छ। वडा नम्बर २ स्थित सैनिक ब्यारेक आसपास मृत अवस्थामा फेला परेका कागहरूको नमुना परीक्षण गर्दा ‘लो प्याथोजेनिक एच–९’ प्रकारको बर्डफ्लु संक्रमण देखिएको नगरपालिकाले जनाएको हो।

नगरपालिकाका अनुसार मृत कागबाट संकलित नमुना काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। प्राप्त प्रतिवेदनले बर्डफ्लु संक्रमण पुष्टि गरेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न सावधानीका उपाय अवलम्बन गर्न सूचना जारी गरिएको छ।

स्थानीय प्रशासनले विशेषगरी कुखुरा पालन व्यवसाय गर्ने किसानलाई जैविक सुरक्षा प्रणाली कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। फार्म क्षेत्रमा अनावश्यक मानिस र सवारीसाधनको प्रवेश रोक्न, नियमित रूपमा औषधीयुक्त छर्काइ तथा सरसफाइ गर्न र अन्य जंगली चराचुरुङ्गीको सम्पर्क हुन नदिन आग्रह गरिएको छ।

त्यस्तै, कुनै कुखुरा अस्वाभाविक रूपमा बिरामी परेको वा मरेको अवस्थामा तत्काल नजिकको पशु सेवा कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ। खुला रूपमा कुखुरा पालन नगर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि नगरपालिकाले सचेत गराएको छ।

कुखुरा तथा कुखुराजन्य वस्तुको ओसारपसार गर्दा अनिवार्य स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था पनि कडाइका साथ लागू गरिने बताइएको छ। संक्रमण फैलिन नदिन सम्बन्धित निकाय, किसान तथा सर्वसाधारणबीच समन्वय आवश्यक रहेको नगरपालिकाको भनाइ छ।

हाल पुष्टि भएको एच–९ प्रकारको बर्डफ्लु कम घातक मानिए पनि लापरवाही गर्दा पशुपन्छी क्षेत्रमा क्षति पुग्न सक्ने तथा मानव स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले समयमै सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।