कास्कीको पोखरामा फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना हटाउने तयारी तीव्र बनेसँगै स्थानीयवासी तथा विभिन्न संघसंस्थाले आफ्ना सामान र संरचना खाली गर्न थालेका छन् । पोखरा महानगरपालिकाले दिएको ३५ दिने अल्टिमेटम सकिएपछि आजदेखि डोजर चलाएर खोलाघर खाली गराउने अभियान सुरु गर्न लागिएको हो ।
महानगरपालिकाले गत ३ वैशाखमा सार्वजनिक सूचना जारी गर्दै फिर्केखोलाको खोलाघरभित्र बनेका अस्थायी तथा स्थायी संरचना हटाउन निर्देशन दिएको थियो । महानगर प्रमुख धनराज आचार्यका अनुसार २०८० असारमा गरिएको प्राविधिक नापजाँच प्रतिवेदनका आधारमा खोलाघर मिचेर बनाइएका सबै प्रकारका संरचना हटाइनेछ । त्यसका लागि सम्बन्धित व्यक्ति, व्यवसायी र संस्थालाई पूर्वसूचना दिइसकिएको उनले बताएका छन् ।
महानगरले पोखरा–२ र १८ को सीमास्थित अँधेरिकुनादेखि, पोखरा–४ र ५ को सीमामा रहेको फिर्केपुल क्षेत्रबाट तथा पोखरा–७ र ८ को सीमास्थित जिरोकिलोमिटर क्षेत्रबाट एकसाथ अतिक्रमण हटाउने अभियान सञ्चालन गर्ने जनाएको छ । सम्बन्धित वडाका अध्यक्ष र जनप्रतिनिधिको नेतृत्वमा डोजर परिचालन गरिनेछ ।
महानगरको चेतावनीपछि केही संस्थाले आफ्ना भवन तथा सामग्री हटाउन सुरु गरिसकेका छन् । फिर्केखोलामा रहेको लायन्स क्लबले शुक्रबार नै सामग्री सारेको छ भने फोटोग्राफर संघलगायत अन्य संस्थाले पनि भवन खाली गर्ने काम थालेका छन् । स्थानीय बासिन्दाले समेत घरभित्रका सामान सुरक्षित स्थानमा सार्न थालेका छन् ।
महानगरपालिकाको नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघरमाथि १६० वटा संरचना निर्माण गरिएको पाइएको छ । तीमध्ये ९७ अस्थायी र ३५ स्थायी निजी संरचना रहेका छन् भने १० अस्थायी र १८ स्थायी संस्थागत संरचना खोलामाथि बनाइएको उल्लेख छ ।
पोखरा महानगरपालिका–१८, २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवातालमा मिसिने फिर्केखोलाको लम्बाइ करिब आठ किलोमिटर रहेको छ । नापजाँचका क्रममा खोला कम्तीमा ३ दशमलव ३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको पाइएको महानगरले जनाएको छ ।