रसुवा जिल्लाको हिमाली काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मा गङ्गादशहरा पर्वको अवसरमा विशेष धार्मिक मेला सुरु भएको छ । जेठ ३ गतेदेखि आरम्भ भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ । यस वर्ष करिब पाँच हजार भक्तजनले गोसाइँकुण्ड पुगेर स्नान तथा दर्शन गर्ने अनुमान गरिएको छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि अत्यन्त पवित्र मानिने गोसाइँकुण्डलाई भगवान् शिवको तपोभूमिका रूपमा लिइन्छ । धार्मिक किम्वदन्तीअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको कालकूट विषले सृष्टि संकटमा परेपछि भगवान् शिवले उक्त विष पान गर्नुभएको थियो । विषको ताप सहन नसकेपछि उहाँ हिमालयतर्फ पुग्नुभएको र त्रिशूल प्रहार गरेर निस्किएको जलबाट गोसाइँकुण्ड उत्पत्ति भएको विश्वास रहिआएको छ । यही कारण यस कुण्डको जललाई पाप नाश गर्ने, आत्मा शुद्ध बनाउने र मोक्ष प्रदान गर्ने पवित्र जलका रूपमा लिने गरिन्छ ।
धार्मिक मान्यताअनुसार गङ्गादशहराको दिन गोसाइँकुण्डमा स्नान गर्दा दश प्रकारका पाप नाश हुने विश्वास छ । जनैपूर्णिमाको स्नानले जन्मजन्मान्तरका दोष समाप्त हुने तथा जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।
समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको गोसाइँकुण्ड पुग्न धुञ्चे, चन्दनबारी, लौरीविनायक हुँदै कठिन पदयात्रा गर्नुपर्छ । यात्राका क्रममा भक्तजनले हिमाली प्राकृतिक सौन्दर्यसँगै अध्यात्मिक शान्तिको अनुभूति गर्ने गरेका छन् ।
मेला अवधिभर यात्रु व्यवस्थापन, पूजा तथा सुरक्षाका लागि स्थानीय व्यवसायी, सुरक्षा निकाय र गोसाइँकुण्ड क्षेत्र विकास समितिले विशेष तयारी गरेका छन् । साथै यात्राका क्रममा वातावरण संरक्षण, फोहर व्यवस्थापन र वन्यजन्तु संरक्षणमा समेत ध्यान दिन सबै यात्रुमा आग्रह गरिएको छ ।