पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोला आसपास र पृथ्वीचोकस्थित बसपार्क क्षेत्रको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ । महानगरले सार्वजनिक सूचना जारी गर्दै खोलाघरभित्र तथा बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा बनेका स्थायी र अस्थायी संरचना तत्काल हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो ।
महानगरका अनुसार पोखरा–१८ अँधेरीकुनादेखि विभिन्न वडा हुँदै फेवातालमा मिसिने फिर्केखोलाको क्षेत्रभित्र निर्माण गरिएका घरटहरा, पसल तथा अन्य संरचना हटाउन अन्तिम समयसीमा तोकिएको छ । प्राविधिक टोलीले नापजाँच गरी सीमांकन गरिसकेको र पोल गाडिएको क्षेत्रभित्र रहेका सबै संरचना हटाइने जनाइएको छ । तोकिएको अवधिभित्र स्वयंले संरचना नहटाए महानगर आफैंले डोजर प्रयोग गरेर हटाउने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट असुल गरिने चेतावनी दिइएको छ ।
यसअघि पनि महानगरले पटक–पटक सूचना जारी गर्दै खोलाघर खाली गर्न आग्रह गरेको थियो । उक्त निर्णयविरुद्ध अदालतमा मुद्दा परे पनि अदालतले महानगरको कदम रोक्न आदेश नदिएपछि अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
यता पृथ्वीचोकस्थित प्रस्तावित आधुनिक बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गा पनि वर्षौंदेखि अतिक्रमणमा परेको महानगरको भनाइ छ । विसं २०३१/३२ तिर करिब २०५ रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि हाल करिब ६० रोपनी मात्र बाँकी रहेको बताइएको छ । महानगरले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको विवरण संकलन सुरु गरेको छ ।
महानगर प्रमुख धनराज आचर्यले वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापनसहित आधुनिक सुविधायुक्त बसपार्क निर्माण अघि बढाइने बताएका छन् । उनका अनुसार बसपार्क निर्माणका विषयमा सर्वदलीय तथा सर्वपक्षीय सहमति भइसकेको छ ।