हेटौँडा । छठ पर्व मनाउन काठमाडौं उपत्यकाबाट सर्लाहीस्थित आफ्नो गाउँ फर्किंदै गरेका यात्रु सवार माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांशको पहिचान अझै खुल्न सकेको छैन।
बिहीबार बिहान करिब ५ः४५ बजे मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गतको सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको छ। मृतकमध्ये माइक्रोबस चालकको मात्र पहिचान खुलेको छ। चालक सर्लाहीको कविलासी नगरपालिका–८ निवासी रविशङ्कर कुमार मण्डल रहेको प्रहरीले जनाएको छ।
माइक्रोबसमा चालकसहित करिब १४ जना सवार थिए। घाइते हुनेमा तीन पुरुष र दुई बालक छन्। उनीहरू सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ निवासी ३३ वर्षीय मुकेश यादव तथा पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ।
घाइते मुकेश यादवका अनुसार उनीहरू छठ पर्व मनाउन सर्लाहीस्थित गाउँ फर्किने क्रममा थिए। काठमाडौंको टीकाथलीबाट राति करिब २ बजे गाडी रिजर्भ गरेर यात्रा सुरु गरिएको थियो। माइक्रोबसमा सवार अधिकांश यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको उनले बताएका छन्।
दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धार तथा खोजतलासमा परिचालन गरिएको थियो। भिरालो र कठिन भूगोलका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार मृतकको पहिचान खुलाउने तथा दुर्घटनाको कारण पत्ता लगाउने काम भइरहेको छ।
छठ पर्व मनाउन घर फर्किने क्रममा भएको यस दर्दनाक दुर्घटनाले यात्रुका परिवार तथा आफन्तजनलाई शोकमा डुबाएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्