काठमाडौं । नेपालको मौलिक राष्ट्रिय पहिचानका रूपमा रहेको नेपाल संवत् कुनै समय संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा समेत विशेष रूपमा मनाइने गरिएको थियो। नेपाल संवत्को नयाँ वर्षको पहिलो दिनलाई ‘नेपाल डे’ का रूपमा मनाउने परम्परा सन् १९५९ अर्थात् वि.सं. २०१६ सालमा सुरु भएको थियो। तर पञ्चायती शासनकालमा आएर यो परम्परा बन्द गरियो।
नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेपछि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचान प्रस्तुत गर्ने अवसर प्राप्त भएको थियो। तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा रहेको जननिर्वाचित सरकारको समयमा संयुक्त राष्ट्रसंघमा रहेका नेपाली प्रतिनिधिहरूको पहलमा नेपाल संवत्को नयाँ वर्षलाई ‘नेपाल डे’ का रूपमा मनाउन थालिएको थियो।
नेवा: टाइम्समा प्रकाशित इतिहास तथा संस्कृतिसम्बन्धी लेखक बसन्त महर्जनको लेखअनुसार, नेपाल संवतको नयाँ वर्षका अवसरमा संयुक्त राष्ट्रसंघमा विशेष कार्यक्रम आयोजना गरी नेपालको कला, संस्कृति, सम्पदा, परम्परा र लिपिको परिचय दिने गरिन्थ्यो। विभिन्न देशका प्रतिनिधिहरूलाई नेपालको मौलिक सांस्कृतिक पहिचानबारे जानकारी गराउनु यसको मुख्य उद्देश्य थियो।
तर वि.सं. २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी पञ्चायती व्यवस्था लागू गरेपछि नेपालको राष्ट्रिय पहिचानसम्बन्धी नीतिमा परिवर्तन आयो। तत्कालीन शासन व्यवस्थाले एक भाषा, एक भेषको नीतिलाई प्राथमिकता दिँदै विभिन्न जातीय तथा भाषिक पहिचानलाई संकुचित गरेको थियो।
यसैको प्रभाव नेपाल संवत् र त्यससँग जोडिएको सांस्कृतिक गतिविधिमा पनि परेको लेखक महर्जनको विश्लेषण छ। नेपाल संवत्को नयाँ वर्ष मनाउने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रमलाई समेत शंकाको दृष्टिले हेरिन्थ्यो। कतिपय अवस्थामा सहभागीहरूलाई प्रहरी प्रशासनले गिरफ्तार गर्ने गरेको उल्लेख लेखमा छ।
यसबीच संयुक्त राष्ट्रसंघमा भने ‘नेपाल डे’ मनाउने परम्पराले निरन्तरता पाइरहेको थियो। तर अन्ततः पञ्चायती सरकारले वि.सं. २०३८ साल (नेपाल संवत् ११०२) सम्ममा संयुक्त राष्ट्रसंघलगायत विभिन्न कूटनीतिक नियोगमा मनाइँदै आएको उक्त परम्परा खारेज गर्यो।
किन पुनः सुरु गर्नुपर्छ ?
वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाल संवत्ले क्रमशः राष्ट्रिय मान्यता प्राप्त गर्यो। सरकारी कामकाजमा यसको प्रयोग हुन थाल्यो र राष्ट्रिय पहिचानका रूपमा यसको महत्व स्थापित हुँदै गयो।
लेखक महर्जनले नेपाल संवत् कुनै एउटा समुदायको मात्र सांस्कृतिक सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय पहिचान भएको उल्लेख गरेका छन्। त्यसैले संयुक्त राष्ट्रसंघमा नेपाल संवत्को नयाँ वर्षलाई ‘नेपाल डे’ का रूपमा पुनः मनाउने परम्परा सुरु गर्नुपर्ने उनको सुझाव छ।
उनका अनुसार यस्तो कार्यक्रमलाई सबै जातजाति, भाषा, संस्कृति र समुदायको प्रतिनिधित्व हुने गरी विस्तार गर्न सके अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको विविधतायुक्त मौलिक पहिचान प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बन्न सक्छ।
स्रोत : नेवा: टाइम्स, बसन्त महर्जनको लेख ‘संयुक्त राष्ट्र संघमा नेपाल सम्बत’, १० नोभेम्बर २०२६
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्