दशैंको अवसरमा एटिएमबाट रु. १०० को नोट झिक्न पाइने

insight dainik

काठमाडौं । दसैँलगायतका ठूला चाडपर्वमा साना दरका नोटको अभाव र बैंक काउन्टरमा हुने भीडलाई कम गर्न नेपाल राष्ट्र बैंकले एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था अघि बढाएको छ।

राष्ट्र बैंकको निर्देशनपछि प्राविधिक रूपमा सम्भव भएका एटीएममा १०० रुपैयाँका नोट राख्ने तयारी बैंकहरूले सुरु गरेका छन्। सबै एटीएममा भने तत्काल यो सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार थप क्यासेट राख्न मिल्ने तथा आवश्यक प्राविधिक क्षमता भएका एटीएमबाट १०० रुपैयाँका नोट वितरण गरिनेछ। हाल अधिकांश एटीएममा दुईवटा क्यासेट मात्र हुने भएकाले सामान्यतया ५०० र १ हजार रुपैयाँका नोट राखिँदै आएको छ।

आधुनिक एटीएममा थप क्यासेट प्रयोग गरेर १०० रुपैयाँका नोट राख्न सकिने भएकाले त्यस्ता मेसिनमा सेवा सुरु गर्न बैंकहरूलाई भनिएको हो। पुराना वा प्राविधिक रूपमा परिमार्जन गर्न कठिन एटीएममा भने तत्काल यो व्यवस्था लागू गर्न बाध्यकारी बनाइएको छैन।

एटीएमबाट पैसा निकाल्दा ग्राहकले चाहेको सम्पूर्ण रकम १०० रुपैयाँकै नोटमा भने पाउने छैनन्। मेसिनको क्षमता र नोट वितरण प्रणालीअनुसार ५०० वा १ हजार रुपैयाँका नोटसँगै १०० रुपैयाँका नोट मिश्रित रूपमा आउने व्यवस्था गरिनेछ। उदाहरणका लागि १ हजार ४०० वा १ हजार ९०० रुपैयाँ निकाल्दा सय रुपैयाँका नोटसमेत प्राप्त हुन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार एकपटकमा धेरै संख्यामा साना दरका नोट निकाल्दा एटीएममा समस्या आउन सक्ने र नगद छिट्टै सकिने जोखिम भएकाले मिश्रित रूपमा नोट वितरण गर्न लागिएको हो।

यस व्यवस्थाले दसैँका बेला नयाँ नोट तथा साना दरका नोटका लागि बैंक शाखामा लाग्ने भीड घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। सेवा प्रभावकारी भएमा चाडपर्वपछि पनि एटीएमबाट १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था निरन्तरता पाउन सक्ने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्