काठमाडौं । रुसमा प्लेग संक्रमणको आशंका देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसी अधिकारीसँग थप जानकारी मागेको छ। प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा गम्भीर निमोनिया देखिएपछि घटनालाई लिएर विश्व स्वास्थ्य क्षेत्रमा चासो बढेको हो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपालले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाएको छ।
रुसको इर्कुत्स्कस्थित एन्टी–प्लेग रिसर्च इन्स्टिच्युटमा कार्यरत एक कर्मचारीलाई अक्टोबर २ मा गम्भीर निमोनियाका कारण अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो। प्रारम्भिक सञ्चारमाध्यमका विवरणमा प्रयोगशालामा भएको भनिएको दुर्घटनात्मक सम्पर्कपछि ती कर्मचारीमा ‘न्युमोनिक प्लेग’ संक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो।
घटनापछि डब्लुएचओले रुससँग थप आधिकारिक विवरण मागेको छ। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सम्भावित जनस्वास्थ्य जोखिमको सही मूल्याङ्कनका लागि समयमै, पूर्ण र पारदर्शी सूचना आदानप्रदान आवश्यक रहेको बताएका छन्। आवश्यक परे रुसलाई प्राविधिक सहयोग उपलब्ध गराउन डब्लुएचओ तयार रहेको उनको भनाइ छ।
रुसले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन (आईएचआर) अन्तर्गत डब्लुएचओलाई प्रारम्भिक जवाफ दिइसकेको छ। तर, गम्भीर निमोनियाको कारण, सम्भावित रोगजनक तथा अर्का कर्मचारीमा देखिएको अज्ञात कारणको निमोनियाबारे थप स्पष्टीकरण मागिएको छ।
डब्लुएचओको प्रारम्भिक जोखिम मूल्याङ्कनअनुसार इर्कुत्स्क क्षेत्रमा जोखिम मध्यमदेखि न्यून, समग्र रुसमा न्यून र युरोपमा अति न्यून रहेको छ। अहिलेसम्म यो घटना विश्वव्यापी महामारीको संकेत भएको पुष्टि भएको छैन।
यता नेपालमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कलाई उच्च सतर्कतामा राखिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तर्राष्ट्रिय यात्रुमा निगरानी बढाएको छ। साथै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा प्लेग परीक्षणको सुविधा रहेको जनाइएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार हाल रुसबाहिर प्लेग संक्रमण फैलिएको पुष्टि नभएकाले नेपालमा तत्काल उच्च जोखिम देखिएको छैन। तर, अन्तर्राष्ट्रिय आवागमनका कारण सम्भावित संक्रमणको निगरानीलाई निरन्तरता दिइएको छ।
प्लेग गम्भीर संक्रामक रोग भए पनि समयमै पहिचान र उपचारबाट नियन्त्रण गर्न सकिने भएकाले हालको घटनालाई लिएर अनावश्यक त्रास फैलाउनुभन्दा डब्लुएचओ तथा सम्बन्धित स्वास्थ्य निकायबाट जारी हुने आधिकारिक सूचनालाई आधार मान्नुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्