काठमाडौं। भारतीय चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान हृदयघात भएपछि उनको निधन भएको हो।
दैनिक भास्करका अनुसार पाटेकरलाई हृदयघात भएपछि चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि उनको ज्यान बचाउन सकेनन्। चिकित्सक डा. शेखर सालकरका अनुसार उनको बिहान ५ः२० बजे निधन भएको हो। निधनपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै मेडिको–लिगल केस (एमएलसी) दर्ता गरिएको र पोस्टमार्टम गरिने जनाइएको छ।
नाना पाटेकरले सन् १९७८ मा प्रदर्शनमा आएको फिल्म ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि उनले बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए। विधु विनोद चोपडाको ‘परिन्दा’बाट उनले व्यापक चर्चा पाएका थिए।
पाटेकरले ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’, ‘यशवंत’ लगायतका चर्चित फिल्ममा प्रभावशाली अभिनय गरेका थिए। सामाजिक तथा गम्भीर विषयवस्तुमा आधारित चलचित्रमा उनको अभिनयलाई विशेष रूपमा रुचाइएको थियो।
उनले अभिनयसँगै निर्देशन र लेखनमा समेत काम गरेका थिए। ‘प्रहार’ फिल्ममा सैनिकको भूमिका निर्वाह गर्न उनले विशेष सैन्य प्रशिक्षणसमेत लिएका थिए। सन् १९९९ मा कारगिल युद्धका क्रममा उनी भारतीय सेनासँगै रहेको विवरण पनि भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
पछिल्लो समय भने उनी प्रकाश झाको वेब सिरिज ‘संकल्प’मा देखिएका थिए।
बहुआयामिक अभिनय क्षमता र सशक्त संवाद प्रस्तुतिका कारण पाटेकर भारतीय चलचित्र क्षेत्रमा लामो समयसम्म प्रभावशाली कलाकारका रूपमा स्थापित थिए। उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रमा एक चर्चित कलाकार गुमेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्