काठमाडौं । भारतीय अभिनेत्री उर्वशी रौतेलाको नाम, तस्बिर तथा भिडियो आफ्नो अनुमतिबिना प्रयोग गरेको आरोपमा अमेरिकी एआई कम्पनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
उर्वशीको टोलीका अनुसार लस एन्जलसमा रहेको ‘बलिउड.AI’ नामक कम्पनीविरुद्ध कानुनी कारबाही अघि बढाउने निर्णय गरिएको हो। टोलीले कम्पनीसँग ७ हजार करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरिएको जनाएको छ।
उर्वशीको टोलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा अभिनेत्रीको अनुमति नलिई उनको पहिचान र सामग्रीलाई व्यावसायिक प्रयोजनमा प्रयोग गरिएको आरोप लगाइएको छ। टोलीले एआई कम्पनी स्थापना वा सञ्चालन गर्ने विषयमा आफूहरूको आपत्ति नभए पनि उर्वशीको नाम र पहिचानलाई अनुमतिबिना व्यवसायसँग जोड्न नहुने जनाएको छ।
यो विवाद कम्पनीले उर्वशीसँग गरेको एक अन्तर्वार्तापछि बाहिर आएको हो। उक्त अन्तर्वार्तामा उनलाई बलिउड र आर्टिफिसियल इन्टेलिजेन्सको सम्बन्ध तथा भविष्यबारे प्रश्न गरिएको थियो। अन्तर्वार्ता सार्वजनिक भएपछि उर्वशीको टोलीले कम्पनीको प्रयोग र सामग्रीसम्बन्धी विषय उठाउँदै कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेको हो।
यसैबीच ‘बलिउड.AI’ र ‘हलिवुड.AI’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिराज हसनले उर्वशीको टोलीको क्षतिपूर्तिको दाबीप्रति असहमति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दाबीलाई हास्यास्पद भएको बताएका छन्।
हसनले एआई प्रविधिले मनोरञ्जन क्षेत्रमा ठूलो परिवर्तन ल्याउने दाबी गर्दै एआईबाट निर्माण हुने चलचित्र, डिजिटल कलाकार तथा विभिन्न भाषामा तयार हुने सामग्री आगामी दिनमा थप विस्तार हुने बताएका छन्।
यद्यपि, उर्वशीको टोलीले उठाएको मुख्य प्रश्न भने अभिनेत्रीको नाम, तस्बिर र भिडियो व्यावसायिक प्रयोजनमा प्रयोग गर्दा अनुमति लिइएको थियो वा थिएन भन्ने विषयमा केन्द्रित छ। यस विषयमा कानुनी प्रक्रिया अघि बढेपछि विवादको वास्तविक अवस्था थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्