अस्ट्रेलियाका सहरमा १९७४ एडीको सांगीतिक लहर, ‘तिमीलाई पिरतीले बाँधौला’बाट सुरु भयो कन्सर्ट

insight dainik

काठमाडौं । नेपाली सांगीतिक ब्यान्ड १९७४ एडीले अस्ट्रेलियाका विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रा जारी राखेको छ। ब्यान्डको अस्ट्रेलिया भ्रमणअन्तर्गत पर्थबाट सुरु भएको कार्यक्रम क्यानबेरा हुँदै ब्रिसबेनसम्म पुगेको छ।

क्यानबेरामा आयोजित कन्सर्टमा १ हजार ५ सयभन्दा बढी दर्शक सहभागी भएको ब्यान्डले जनाएको छ। कार्यक्रममा ब्यान्डले आफ्ना चर्चित गीतमार्फत नेपाली संगीतप्रेमीलाई मनोरञ्जन दिएको थियो।

क्यानबेराको प्रस्तुति ‘तिमीलाई पिरतीले बाँधौला’ गीतबाट सुरु भएको थियो। गीत बज्न थालेसँगै दर्शकले पनि स्वरमा स्वर मिलाएका थिए। त्यसपछि ब्यान्डले आफ्ना अन्य लोकप्रिय गीत प्रस्तुत गर्दा कार्यक्रमस्थलमा नेपाली संगीतको माहोल बनेको थियो।

ब्यान्डका सदस्य मनोजकुमार केसीले अस्ट्रेलियामा नेपाली गीतप्रति दर्शकले देखाएको उत्साहले आफूहरूलाई भावुक बनाएको बताए। उनका अनुसार ब्यान्ड केवल गीत प्रस्तुत गर्न नभई विदेशमा रहेका नेपाली दर्शकसँग जोडिन पनि अस्ट्रेलिया पुगेको हो।

अर्का सदस्य मनोज सिंहले विभिन्न सहरमा दर्शकको निरन्तर साथले ब्यान्ड र नेपाली संगीतबीचको सम्बन्धलाई थप बलियो बनाएको बताए। उनका अनुसार पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मका दर्शक एउटै ठाउँमा भेला भएर नेपाली गीतमा रमाएको दृश्य भ्रमणको महत्वपूर्ण पक्ष बनेको छ।

सञ्जय श्रेष्ठले पनि पर्थमा भएको पहिलो कार्यक्रम अपेक्षाभन्दा राम्रो भएको बताए। लामो समयपछि अस्ट्रेलिया पुगेर नेपाली संगीतप्रेमीसँग प्रत्यक्ष भेट्न पाउँदा खुसी लागेको उनको भनाइ छ।

हाल १९७४ एडीमा निराकार याक्थुम्बा, सञ्जय श्रेष्ठ, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मनोजकुमार केसी र मनोज सिंह आबद्ध छन्।

ब्यान्डको आगामी कार्यक्रम सेप्टेम्बर ३० मा न्युक्यासल, अक्टोबर ३ मा सिड्नी, अक्टोबर ५ मा मेलबर्न र अक्टोबर ८ मा एडिलेडमा हुने तालिका छ। ‘रोटेपिङ’को सहकार्यमा ब्यान्डले युरोपका विभिन्न स्थानमा पनि सांगीतिक कार्यक्रम गरिरहेको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्