७ मिनेटमै मस्तिष्कमा देखिन थाल्छ ध्यानको प्रभाव, नयाँ अध्ययनले देखायो चकित पार्ने नतिजा

nepal news portal

छोटो समयको ध्यान अभ्यासले पनि मस्तिष्कमा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने नयाँ अध्ययनले देखाएको छ। वैज्ञानिक जर्नल Mindfulness मा प्रकाशित अनुसन्धानअनुसार श्वासमा केन्द्रित ध्यान सुरु गरेको दुई मिनेटभित्रै मस्तिष्कका तरंगहरू बदलिन थाल्छन् भने यसको प्रभाव करिब सात मिनेटमा सबैभन्दा उच्च बिन्दुमा पुग्छ।

भारतको बेङ्गलुरुस्थित चेतना अध्ययन केन्द्रका अनुसन्धानकर्ता Malipeddi Saketh नेतृत्वको टोलीले १०३ जनामाथि अध्ययन गरेको थियो। उनीहरूलाई तीन समूहमा विभाजन गरिएको थियो—ध्यानको अनुभव नभएका व्यक्ति, सामान्य ध्यान अभ्यास गर्ने व्यक्ति र लामो समयदेखि गहिरो ध्यान अभ्यास गर्दै आएका अनुभवी साधक।

अनुसन्धानमा सहभागीहरूको मस्तिष्क गतिविधि मापन गर्न “ईईजी” प्रविधि प्रयोग गरिएको थियो। यो प्रविधिले टाउकोमा राखिएका सेन्सरमार्फत मस्तिष्कका विद्युतीय तरंगहरू रेकर्ड गर्छ। अध्ययनका क्रममा सहभागीहरूलाई १५ मिनेटसम्म केवल आफ्नै श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्न लगाइएको थियो।

नतिजाअनुसार ध्यान सुरु भएको दुईदेखि तीन मिनेटभित्रै मस्तिष्कका “थिटा”, “अल्फा” र “बिटा” तरंगहरू बढ्न थाले। यी तरंगहरू सामान्यतः शान्त ध्यान, एकाग्रता र मानसिक स्थिरतासँग सम्बन्धित मानिन्छन्। त्यस्तै तनाव, अस्थिरता वा मन भड्किने अवस्थासँग सम्बन्धित केही अन्य तरंगहरू भने घट्दै गएको पाइएको थियो।

अनुभवी ध्यानकर्ताहरूमा परिवर्तन अझ स्पष्ट देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनीहरूमा सुरुको अवस्थादेखिनै उच्च स्तरको मानसिक सजगता र कम मन विचलन देखिएको थियो।

अनुसन्धानकर्ताका अनुसार यस अध्ययनले लामो समय ध्यान गर्नैपर्छ भन्ने धारणा चुनौती दिएको छ। दैनिक व्यस्त जीवनमा पनि छोटो समयको ध्यान अभ्यासले मानसिक स्वास्थ्य, तनाव नियन्त्रण र ध्यान केन्द्रित गर्ने क्षमतामा सकारात्मक प्रभाव पार्न सक्ने संकेत अध्ययनले दिएको छ।

यद्यपि अनुसन्धानकर्ताहरूले यो अध्ययन प्रयोगशाला वातावरणमा गरिएको भएकाले वास्तविक जीवनमा परिणाम फरक हुन सक्ने बताएका छन्। भविष्यमा उनीहरूले ईईजीसँगै एमआरआई लगायत अन्य प्रविधि प्रयोग गरेर ध्यानले दीर्घकालीन रूपमा मस्तिष्कमा पार्ने प्रभावबारे थप अध्ययन गर्ने योजना बनाएका छन्।