काठमाडौँ । देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो हावा (लु) सम्बन्धी विशेष सतर्कता जारी गरेको छ। विभागले आगामी तीन दिनसम्म विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागमा अत्यधिक गर्मी कायम रहने चेतावनी दिएको हो।
विभागका अनुसार केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ भने थोरै क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्न सक्ने अनुमान गरिएको छ। मौसमविद्हरूका अनुसार केही दिनयता सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा लगातार गर्मी बढ्दो क्रममा रहेको छ, जसका कारण जनजीवन प्रभावित बन्न थालेको छ।
मौसमविद् सञ्जिव अधिकारीले विशेष गरी तराई क्षेत्रमा मध्यम स्तरको तातो हावा चल्ने र पहाडी भू–भागमा अत्यधिक गर्मी महसुस हुने सम्भावना रहेकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको बताए। विभागका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ जिल्लामा उच्च सतर्कता आवश्यक रहेको छ। यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लामा पनि गर्मीको असर बढ्न सक्ने बताइएको छ।
स्वास्थ्यमा तातो हावा र अत्यधिक गर्मीका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बान्ता हुने तथा बेहोससम्म हुन सक्ने जोखिम रहेको विभागले जनाएको छ।
विभागले दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, चर्को घाममा बाहिर ननिस्किन, हल्का र सुतीका कपडा लगाउन तथा बाहिर जाँदा टाउको छोप्न सुझाव दिएको छ। साथै प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न तथा स्वास्थ्यमा समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गरिएको छ।