१४ वर्षपछि सरकारको नाममा आयो खुमबहादुर परिवारसँग जोडिएको सानेपाको जग्गा

nepal news portal

काठमाडौ । भ्रष्टाचारबाट आर्जन गरिएको ठहर भएको ललितपुरको सानेपास्थित बहुमूल्य जग्गा १४ वर्षपछि अन्ततः सरकारको नाममा आएको छ। गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले वैशाख २ गते एक रोपनी ६ आना एक पैसा एक दाम क्षेत्रफलको उक्त जग्गा नेपाल सरकारको नाममा दर्ता गरेको हो।

यो जग्गा पूर्वमन्त्री खुमबहादुर खड्का परिवारसँग सम्बन्धित रहेको बताइएको छ। सर्वोच्च अदालतले २०६९ सालमा भ्रष्टाचार मुद्दामा फैसला गर्दै स्रोत नखुलेको सम्पत्ति जफत गर्न आदेश दिएको थियो। अदालतले खड्कालाई एक वर्ष ६ महिना कैद सजाय, ९४ लाख रुपैयाँभन्दा बढी जरिवाना तथा अवैध सम्पत्ति जफत गर्ने निर्णय गरेको थियो।

फैसलाअनुसार खड्काकी पत्नी शिला शर्मा खड्काको नाममा रहेको सानेपास्थित कित्ता नम्बर २४९ को जग्गा जफत गरिएको हो। तर जग्गा सरकारको नाममा आए पनि हालसम्म त्यसको पूर्ण नियन्त्रण सरकारले लिन सकेको छैन। खड्का परिवारले अझै उक्त जग्गा प्रयोग गरिरहेको बताइएको छ।

अदालतले अन्य दुई कित्ताका जग्गासमेत जफत गर्न आदेश दिएको भए पनि ‘बढे–बढाएको सम्पत्ति’ जफत गर्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। सरकारले अहिले कानुन संशोधन गरी हालको बजार मूल्यका आधारमा सम्पत्ति जफत गर्ने तयारी थालेको जनाएको छ।

त्यतिबेला करिब २० लाख रुपैयाँ मूल्यांकन गरिएको उक्त जग्गाको अहिले मूल्य करोडौं पुगेको अनुमान गरिएको छ। यसअघि जग्गा फिर्ता दिने प्रयास भए पनि विशेष अदालतले प्रक्रिया रोकेको थियो।

सर्वोच्च अदालतले खड्काको मित्सुबिसी प्राडो गाडी, सुन र चाँदीसमेत जफत गर्न आदेश दिएको भए पनि ती सम्पत्ति अझै सरकारको नियन्त्रणमा आउन सकेका छैनन्। लामो समयपछि फैसला कार्यान्वयन हुन थालेपछि भ्रष्टाचार मुद्दामा हुने ढिलाइ र कानुनी जटिलताबारे फेरि बहस सुरु भएको छ।