काठमाडौं — प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन्। उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो।
भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ।
यो भेटवार्ता आगामी जेठ १५ गते संसदमा बजेट पेश गर्नुअगावै सरकारको आर्थिक प्राथमिकता र नीतिगत दिशाबारे दुई शीर्ष नेताबीच समन्वय गरिएको महत्त्वपूर्ण बैठकका रूपमा लिइएको छ।
सरकारले यही सत्रमा आर्थिक वर्ष २०८३/०८४ को बजेट पेश गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। संसदीय क्यालेन्डरअनुसार जेठ १५ गते बजेट टेबुल हुनेछ र जेठ १८ गतेदेखि बजेटमाथि छलफल प्रारम्भ हुनेछ।
प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरपछि निस्किएका हुन्।
बालेन शाहको नेतृत्वको सरकारको यो पहिलो पूर्ण बजेट भएकाले यसमाथि आम नागरिक र व्यापारिक क्षेत्रको ठूलो ध्यान केन्द्रित रहेको छ। सरकारले जनताको जीवनस्तर सुधार, रोजगारी वृद्धि र आर्थिक सुधारलाई बजेटमा प्राथमिकता दिने अपेक्षा गरिएको छ।