अमेरिका र इरानबीच १४ बुँदे समझदारी सहमति नजिक पुगेको चर्चा चलिरहेका बेला होर्मुज जलडमरूमध्य क्षेत्रमा पुनः सैन्य भिडन्त भएको छ। दुवै देशले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् भने घटनापछि विश्व राजनीति र तेल बजारमा नयाँ तरंग सिर्जना भएको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (CENTCOM) ले इरानी सेनाले आफ्ना नौसैनिक जहाजमाथि मिसाइल, ड्रोन तथा साना डुंगामार्फत आक्रमण गरेको दाबी गरेको छ। अमेरिकी पक्षका अनुसार USS Truxtun, USS Rafael Peralta र USS Mason नामका तीन विनाशक जहाज होर्मुज हुँदै Gulf of Oman तर्फ गइरहेका बेला इरानी आक्रमण भएको थियो। त्यसपछि आत्मरक्षाका लागि इरानका मिसाइल प्रक्षेपण स्थल, ड्रोन नियन्त्रण केन्द्र तथा सैन्य संरचनामाथि जवाफी हमला गरिएको जनाइएको छ।
यता इरानले भने अमेरिकाले युद्धविराम तोड्दै आफ्ना तेल ट्यांकर तथा तटीय क्षेत्रमा हमला गरेपछि प्रतिकार गरिएको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केश्म टापु तथा तेहरान आसपास विस्फोटको आवाज सुनिएको बताएका छन्। इरानी Revolutionary Guard Corps (IRGC) ले अमेरिकी जहाजलाई “गम्भीर क्षति” पुगेको दाबी गरे पनि अमेरिकाले आफ्ना कुनै जहाजमा क्षति नभएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई “लभ ट्याप” को संज्ञा दिँदै युद्धविराम अझै कायम रहेको बताएका छन्। उनले इरानलाई छिट्टै १४ बुँदे समझदारीमा हस्ताक्षर गर्न चेतावनीसमेत दिएका छन्। ट्रम्पले “इरानले आणविक हतियार कहिल्यै प्राप्त गर्न नपाउने” दोहोर्याएका छन्।
यस घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव परेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ। विश्वको करिब पाँचौं भाग ऊर्जा आपूर्ति हुने होर्मुज क्षेत्रमा तनाव बढ्दा विश्व अर्थतन्त्रमा समेत असर पर्ने चिन्ता बढेको छ।