आठ विश्वविद्यालयमा नयाँ उपकुलपतिका लागि आवेदन खुल्ला: 'एकीकृत कार्यविधि' मार्फत नेतृत्व छानिने

nepal news portal

काठमाडौं । विभिन्न विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि सरकारले नयाँ मापदण्डसहित आवेदन खुलाएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले जारी गरेको ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार अब आवेदकले राजनीतिक दलको सदस्य नरहेको र कुनै पनि बौद्धिक चोरी (प्लेगारिज्म) नगरेको स्वघोषणा अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि १० दिनभित्र आवेदन दिन आह्वान गरेको छ ।

नयाँ कार्यविधिअनुसार उपकुलपति बन्न चाहने व्यक्तिले सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको व्यहोरा खुलाउनुपर्नेछ । साथै, आवेदक कुनै राजनीतिक दलको सदस्य नरहेको र आफ्ना लेख–रचनामा बौद्धिक चोरी नगरेको स्वघोषणापत्र पनि अनिवार्य गरिएको छ ।

सरकारले ‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश, २०८३’ बमोजिम खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा कार्यविधि सार्वजनिक गरिएको छ ।

उपकुलपति बन्न आवश्यक योग्यता

  • कम्तीमा मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि (PhD) उपाधि प्राप्त गरेको हुनुपर्ने

  • अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हुनुपर्ने

  • शैक्षिक वा प्राज्ञिक उन्नयनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको हुनुपर्ने

  • कम्तीमा ४० वर्ष उमेर पूरा भएको हुनुपर्ने

  • उच्च नैतिक चरित्र भएको हुनुपर्ने

  • प्रचलित कानुनअनुसार सार्वजनिक पदका लागि अयोग्य घोषित नभएको हुनुपर्ने

  • सम्बन्धित विश्वविद्यालयसँग स्वार्थ नबाझिएको हुनुपर्ने

  • नेपाली नागरिक हुनुपर्ने

  • आवेदन दिने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने

  • कुनै लेख, अनुसन्धान वा प्रकाशनमा बौद्धिक चोरी नगरेको हुनुपर्ने

  • लुम्बिनी बौद्ध विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयका हकमा सम्बन्धित विषयमै विद्यावारिधि गरेको हुनुपर्ने

छनोट प्रक्रिया कसरी हुनेछ ?

  • आवेदकले सोचपत्र (Vision Paper) पेश गर्नुपर्ने

  • विश्वविद्यालयको रणनीतिक कार्ययोजना (Strategic Action Plan) बुझाउनुपर्ने

  • सबै आवेदकमध्ये उत्कृष्ट १० जनाको अल्पसूची (Shortlist) तयार गरिने

  • सोचपत्र र कार्ययोजनाको एकभन्दा बढी विज्ञबाट मूल्याङ्कन गरिने

  • मूल्याङ्कन गोप्य रूपमा शिलबन्दी गरी सुरक्षित राखिने

  • त्यसपछि प्रस्तुतीकरण र अन्तर्वार्ता लिइने

  • समग्र प्रक्रिया १०० पूर्णाङ्कका आधारमा मूल्याङ्कन गरिने

  • एक उम्मेदवारले बढीमा दुई विश्वविद्यालयमा मात्रै आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।