काठमाडौं, असोज २४। भारतको राजधानी नयाँ दिल्लीमा ‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आह्वान गरेको विरोध प्रदर्शन रोक्न प्रशासनले कडा सुरक्षा व्यवस्था लागू गरेको छ। प्रदर्शनअघि नै चर्चित युट्युबर ध्रुव राठीसहित करिब ६०० जना समर्थक तथा प्रदर्शनकारीलाई प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सीजेपीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रिया रोक्न माग गर्दै शनिबार दिल्लीको जंतर-मंतरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो।
प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका प्रमुख सडकमा व्यापक अवरोध तथा ब्यारिकेडिङ गरिएको छ। प्रदर्शनकारीलाई अघि बढ्न नदिन केही स्थानमा सडकमा तिखा काँडे किलासमेत राखिएको समाचारमा उल्लेख छ। प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा धकेलाधकेल भएको बताइएको छ।
बीबीसी हिन्दीका अनुसार युट्युबर ध्रुव राठीलाई शनिबार बिहान गुरुग्रामको सेक्टर–५६ स्थित निवासबाट प्रहरीले हिरासतमा लिएको हो। हिरासतमा लिनुअघि राठीले शुक्रबार राति इन्डिया गेटअगाडि खिचेको भिडियो सार्वजनिक गर्दै सरकार प्रदर्शनबाट डराएर दिल्लीलाई बन्दाबन्दीजस्तो अवस्थामा पुर्याएको आरोप लगाएका थिए।
सीजेपीका संस्थापक अभिजित दीपके पनि मुम्बईबाट दिल्ली पुगेका छन्। प्रदर्शनलाई लिएर विपक्षी दलहरूबीच भने एकमत देखिएको छैन। भारतीय कम्युनिस्ट पार्टीका विभिन्न घटक, आम आदमी पार्टी र ममता बनर्जी नेतृत्वको तृणमूल कंग्रेसले प्रदर्शनमा सहभागी हुने जनाएका छन्। भारतीय राष्ट्रिय कंग्रेसले भने प्रदर्शनबाट दूरी कायम गरेको छ। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले आन्दोलनलाई नैतिक समर्थन रहेको बताएका छन्।
प्रदर्शनका कारण यातायात सेवासमेत प्रभावित भएको छ। रेलवे बोर्डको निर्णयअनुसार अक्टोबर ९ को दिउँसो २ बजेपछि छुट्ने तथा अक्टोबर १० को बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ दिल्ली वा हजरत निजामुद्दीन स्टेसन पुग्ने २५० भन्दा बढी यात्रुवाहक रेल रद्द गरिएको समाचारमा उल्लेख छ।
त्यस्तै, दिल्ली मेट्रो रेल कर्पोरेसनले सुरक्षाको कारण देखाउँदै ४५ वटा मेट्रो स्टेसनका प्रवेश तथा निकासद्वार बन्द गरेको जनाएको छ। नयाँ दिल्ली, नोएडा सीमालगायत संवेदनशील क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदर्शन नियन्त्रणका लागि अपनाइएको सुरक्षा रणनीतिका कारण सर्वसाधारण यात्रुहरू प्रभावित भएका छन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्