काठमाडौं, २३ असोज । दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीका खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरिएको सिलिन्डर लिन सकिने व्यवस्था गरिने भएको छ। यसबाट चाडपर्वका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने उपभोक्ताको बाध्यता कम हुने अपेक्षा गरिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघका अनुसार घटस्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने यो सुविधाअन्तर्गत उपभोक्ताले आफूसँग भएको खाली सिलिन्डर बुझाएर उपलब्ध ब्रान्डको भरिएको सिलिन्डर लिन सक्नेछन्। सिलिन्डर साटेबापत अतिरिक्त शुल्क लाग्ने छैन। तर, भरिएको सिलिन्डरको निर्धारित मूल्य भने तिर्नुपर्नेछ।
संघले उपत्यकाका ६ स्थानबाट सिलिन्डर साट्ने व्यवस्था मिलाउन लागेको जनाएको छ। ती केन्द्रमा निम्न स्थानहरू रहेका छन्।
१. बालाजुस्थित नेपाल ग्यास उद्योग
२. पेप्सिकोलास्थित सगर ग्यासको गोदाम
३. सुकेधारास्थित बाबा ग्यासको डिपो
४. सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र
५. कलंकीस्थित साइबाबा तथा श्रीकृष्ण ग्यासको गोदाम
६. ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदाम
उपभोक्ताले बिहान ९ः३० बजेदेखि अपराह्न ४ बजेसम्म सेवा लिन सक्नेछन्। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा यो व्यवस्था कार्यान्वयन गर्न लागिएको हो।
संघका अध्यक्ष दिवान चन्दका अनुसार बजारमा ५८ वटा ग्यास उद्योगका विभिन्न ब्रान्डका सिलिन्डर प्रचलनमा छन्। फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले तीन सय रुपैयाँसम्म अतिरिक्त रकम तिर्नुपर्ने अवस्था रहेकाले नयाँ व्यवस्थाले राहत दिने अपेक्षा गरिएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले पनि उद्योगीसँगको छलफलपछि उपभोक्तालाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको बताएका छन्।
विशेषगरी घरमा एउटा मात्र सिलिन्डर भएका परिवारलाई चाडपर्वका बेला ग्यास खोज्दै पसलपसल धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले यो व्यवस्था गर्न लागिएको हो।
सुविधाको दुरुपयोग रोक्न प्रत्येक वास्तविक उपभोक्तालाई एउटा मात्र सिलिन्डर साट्न दिइनेछ। सेवा लिन आउने व्यक्तिको पहिचान खुल्ने विवरण र मोबाइल नम्बरसमेत अभिलेखमा राखिने संघले जनाएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्