हाम्रो पेका ३ लाख ७३ हजारभन्दा बढी प्रयोगकर्ताको डेटा चोरी भएको दाबी

insight dainik

काठमाडौं, २३ असोज। डेटा सेन्टर सेवा प्रदायक कम्पनी डेटा हबमा भएको साइबर आक्रमणपछि डिजिटल भुक्तानी सेवा हाम्रो पेका ३ लाख ७३ हजारभन्दा बढी प्रयोगकर्तासँग सम्बन्धित संवेदनशील विवरण चोरी भएको दाबी सार्वजनिक भएको छ। ह्याकरले उक्त विवरण डार्क वेबमा पाँच हजार अमेरिकी डलरमा बिक्रीका लागि राखेको पाइएको हो।

साइबर अपराधीले ‘एभिक्स’ नामको प्रयोगकर्ता पहिचानबाट गत सेप्टेम्बर ३० मा हाम्रो पे तथा हाम्रो पात्रोसँग सम्बन्धित डेटाबेस बिक्रीमा राखेको विवरण सार्वजनिक भएको छ। उक्त डेटाबेसमा ३ लाख ७३ हजार ५६ प्रयोगकर्ताका अभिलेख रहेको दाबी गरिएको छ।

चोरी भएको भनिएको विवरणमा प्रयोगकर्ताको नाम, ठेगाना, जन्ममिति, मोबाइल नम्बर, इमेल, राष्ट्रिय परिचयपत्र नम्बर, केवाईसी विवरण तथा वालेटको मौज्दातसम्बन्धी जानकारी समावेश छन्। यसका अतिरिक्त कारोबार विवरण, बैंक खातासँग सम्बन्धित अभिलेख, लिंक गरिएका कार्डका विवरण र ओटीपी इतिहाससमेत रहेको दाबी गरिएको छ।

गत असोज ५ गते डेटा हबको पूर्वाधारमा भएको र्‍यान्समवेयर आक्रमणका क्रममा हाम्रो पेको ब्याकअप सर्भरसमेत प्रभावित भएको बताइएको छ। यसअघि उक्त घटनाले नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणाली, सीडीएससी र विभिन्न भुक्तानी प्रणालीमा समेत असर पारेको थियो।

हाम्रो पे सञ्चालक कम्पनी लेनदेन सेवा प्रालिले आफ्नो डिजास्टर रिकभरी प्रणालीमा अनधिकृत पहुँच पुगेको पुष्टि गरेको छ। तर, हालसम्मको अनुसन्धानमा ग्राहकका खातामा अनधिकृत पहुँच भएको प्रमाण नभेटिएको कम्पनीको भनाइ छ। कम्पनीले मुख्य सञ्चालन प्रणाली भने सुरक्षित रहेको जनाएको छ।

कम्पनीका अनुसार प्रभावित ब्याकअपमा रहेका ग्राहकका विवरण इन्क्रिप्टेड अवस्थामा भण्डारण गरिएका थिए। घटनाबारे अनुसन्धान गर्न स्वतन्त्र साइबर सुरक्षा विज्ञ परिचालन गरिएको र सम्बन्धित नियामक निकायलाई जानकारी गराइएको पनि कम्पनीले जनाएको छ।

सम्भावित जोखिम न्यूनीकरण गर्न हाम्रो पेले प्रयोगकर्तालाई आफ्नो कारोबार पिन परिवर्तन गर्न आग्रह गरेको छ। साथै, अपरिचित लिङ्क नखोल्न, ओटीपी तथा पासवर्ड कसैलाई नदिन र वालेटको कारोबार नियमित जाँच गर्न अनुरोध गरिएको छ।

यस घटनाले नेपालको डिजिटल भुक्तानी प्रणालीमा प्रयोग हुने ब्याकअप सर्भर तथा डेटा सुरक्षाको व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। चोरी भएको भनिएको सम्पूर्ण विवरणको वास्तविकता र घटनाबाट प्रभावित प्रयोगकर्ताको यकिन सङ्ख्या भने अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्