सान फ्रान्सिस्को । माइक्रोसफ्ट र एनभिडियाले व्यक्तिगत कम्प्युटरमै जटिल एआई काम गर्न सकिने नयाँ पुस्ताको ल्यापटप ल्याउने तयारी गरेका छन्। नयाँ उपकरणले क्लाउड सेवामा निर्भरता घटाउँदै प्रयोगकर्ताको आफ्नै कम्प्युटरबाटै एआईसम्बन्धी काम गर्न सक्ने लक्ष्य राखेको छ।
रोयटर्सका अनुसार माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नाडेला र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङ सहभागी हुने कार्यक्रममा नयाँ उपकरण सार्वजनिक गर्ने तयारी गरिएको हो। ‘सर्फेस ल्यापटप अल्ट्रा’ नाम दिइएको भनिएको यस उपकरणमा एनभिडियाको विशेष एआई चिप प्रयोग हुने अपेक्षा गरिएको छ।
यस प्रविधिको मुख्य विशेषता भनेको एआईका जटिल कामका लागि हरेक पटक इन्टरनेट वा बाह्य क्लाउड सर्भरमा निर्भर हुनुपर्ने आवश्यकता कम हुनु हो। प्रयोगकर्ताले आफ्नै ल्यापटपबाटै कोड लेख्ने, व्यावसायिक काम गर्ने तथा एआई एजेन्टमार्फत विभिन्न चरणका कार्य सम्पन्न गराउन सक्नेछन्।
एआई एजेन्टले प्रयोगकर्ताले दिएको निर्देशन बुझेर आफैं योजना बनाउने, कामलाई विभिन्न चरणमा विभाजन गर्ने र त्यसअनुसार कार्य सम्पन्न गर्ने क्षमता राख्छ। माइक्रोसफ्टले विन्डोजलाई यस्ता एआई एजेन्ट सञ्चालनका लागि थप सक्षम बनाउने रणनीति अघि बढाइरहेको छ।
क्लाउडबाट कम्प्युटरमै एआई
एआईको बढ्दो प्रयोगसँगै ठूला कम्पनीहरूले आफ्ना सेवा सञ्चालन गर्न ठूलो क्षमताका डेटा सेन्टर र क्लाउड कम्प्युटिङमा ठूलो रकम खर्च गरिरहेका छन्। माइक्रोसफ्टका लागि आफ्नै कम्प्युटरमै एआई सञ्चालन गर्ने प्रविधिले भविष्यमा यस्तो खर्च घटाउने अवसरसमेत सिर्जना गर्न सक्छ।
शक्तिशाली चिप र पर्याप्त मेमोरी भएको व्यक्तिगत कम्प्युटरमै एआई सञ्चालन गर्न सकिए घर तथा कार्यालयमा प्रयोग हुने सामान्य कम्प्युटर पनि जटिल एआई कामका लागि उपयोगी बन्न सक्छन्।
एनभिडियाका लागि भने यो व्यक्तिगत कम्प्युटर बजारमा आफ्नो एआई चिपको विस्तार गर्ने नयाँ अवसर हो। यस क्षेत्रमा अहिले इन्टेल र एएमडीका प्रोसेसरको बलियो उपस्थिति छ।
तर मूल्यले रोक्न सक्छ एआईको ‘नयाँ युग’
नयाँ प्रविधिको सबैभन्दा ठूलो चुनौती भनेको यसको मूल्य हुने विश्लेषकहरूको आकलन छ। एआईका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको माग बढेसँगै तिनको मूल्य पनि बढिरहेको छ।
दुई वर्षअघि व्यक्तिगत कम्प्युटरमै एआई सञ्चालन गर्ने अवधारणा अघि सार्दा यस्ता ल्यापटपको मूल्य सामान्यतः २ हजार अमेरिकी डलरभन्दा कम थियो। अहिले भने शक्तिशाली हार्डवेयर र महँगो मेमोरीका कारण लागत बढेको छ।
एनभिडियाले हालै ‘डीजीएक्स स्पार्क’ एआई डेस्कटपको मूल्य बढाएर करिब ६ हजार ९५० अमेरिकी डलर पुर्याएको उदाहरणसमेत यसैसँग जोडिएको छ। उक्त उपकरणमा १२८ गिगाबाइट मेमोरी प्रयोग गरिएको छ।
विश्लेषकहरूका अनुसार एआईका लागि आवश्यक सफ्टवेयर अहिले पहिलेभन्दा धेरै विकसित भए पनि हार्डवेयरको बढ्दो लागतले व्यक्तिगत कम्प्युटरमै शक्तिशाली एआई प्रयोग गर्ने सुविधा सबैका लागि सहज नहुन सक्छ।
यसले आगामी दिनमा ‘क्लाउडमा चल्ने एआई’ बाट ‘आफ्नै कम्प्युटरमा चल्ने एआई’तर्फ ठूलो परिवर्तन ल्याउने सम्भावना देखिए पनि यसको गति भने उपकरणको मूल्य र हार्डवेयर उपलब्धताले निर्धारण गर्नेछ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्