दुबईबाट इजरायल उडेको फ्लाईदुबई विमानमा आपत्कालीन संकेत, साउदीतर्फ मोडियो

insight dainik

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको यात्रुवाहक विमानमा आपत्कालीन संकेत देखिएपछि सुरक्षा निकायहरूमा हलचल मच्चिएको छ।

उडान नम्बर FZ1073 रहेको उक्त विमानमा १५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ। उडानका क्रममा विमानबाट ‘कोड ७५००’ आपत्कालीन संकेत जारी भएको रिपोर्टहरू सार्वजनिक भएपछि सम्भावित अपहरणको आशंका गरिएको थियो।

उक्त संकेत सामान्यतया विमान अपहरणको अवस्था जनाउन प्रयोग गरिन्छ। तर, विमानमा वास्तवमै अपहरणको प्रयास भएको थियो वा अन्य कुनै कारणले उक्त संकेत जारी भयो भन्ने विषयमा तत्काल आधिकारिक पुष्टि भएको छैन।

आपत्कालीन संकेतपछि विमान आफ्नो निर्धारित गन्तव्य तेल अभिभको सट्टा साउदी अरेबियातर्फ मोडिएको बताइएको छ। घटनापछि इजरायली पक्षले पनि सुरक्षा सतर्कता बढाएको रिपोर्टहरूमा उल्लेख छ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विमानका दुई पाइलटबीच विवाद भएको हुनसक्ने विवरणसमेत सार्वजनिक गरेका छन्। यद्यपि, यो दाबीको स्वतन्त्र आधिकारिक पुष्टि भने भइसकेको छैन।

घटनाको खबरपछि तेल अभिभस्थित बेन गुरियन विमानस्थलमा पनि केही समय उडानसम्बन्धी गतिविधि प्रभावित भएको बताइएको छ।

घटनालाई गम्भीर रूपमा लिँदै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले सुरक्षा अधिकारीहरूसँग आकस्मिक बैठक बोलाएको रिपोर्टमा उल्लेख छ।

यस घटनामा विमानमा रहेका यात्रुहरूको अवस्था, विमान किन डाइभर्ट गरियो र आपत्कालीन ‘७५००’ संकेत किन जारी भयो भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ। सम्बन्धित निकायबाट आधिकारिक विवरण आएपछि मात्र घटनाको वास्तविक कारणबारे यकिन हुने देखिएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्