काठमाडौं । मध्यपूर्वमा तनाव झन् गहिरिँदै गएको छ। एकातर्फ इजरायलले लेबनानमा आफ्ना सैन्य कारबाहीलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ इरान र अमेरिकाबीचको टकरावले नयाँ मोड लिएको छ।
लेबनानको दक्षिणी क्षेत्र तथा टायर सहर आसपास इजरायली सेनाले पछिल्लो २४ घण्टामा श्रृंखलाबद्ध हवाई आक्रमण गरेको जनाइएको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार विभिन्न स्थानमा भएका हमलामा कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। इजरायलले इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहका गतिविधिलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ।
यता हिजबुल्लाहले पनि अग्रपंक्तिमा रहेका इजरायली सैन्य लक्ष्यहरूमा रकेट आक्रमण गरेको दाबी गरेको छ। मार्चदेखि चर्किएको द्वन्द्वका कारण लेबनानमा हजारौं मानिस प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या ३ हजार ६ सयभन्दा बढी पुगेको बताइएको छ।
यसैबीच, विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिका र इरानबीचको तनाव पनि बढेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले अमेरिकी अपाचे हेलिकोप्टर खसालेको दाबी गरेको छ। घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई जिम्मेवार ठहर गर्दै कडा प्रतिक्रिया जनाएका थिए।
त्यसको केही समयपछि अमेरिकाले इरानको केशम टापु आसपास लक्षित सैन्य कारबाही गरेको समाचार सार्वजनिक भएको छ। इरानी सञ्चारमाध्यमहरूले टापु क्षेत्रमा विस्फोटको आवाज सुनिएको पुष्टि गरेका छन्। यद्यपि आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
क्षेत्रीय शक्ति राष्ट्रहरूबीचको बढ्दो सैन्य गतिविधिले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउने चिन्ता बढेको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक संवादमार्फत विवाद समाधान गर्न आग्रह गरिरहेको छ।