फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको प्रस्थान गर्न लागेका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। अध्यागमन कार्यालयले उनीहरूलाई विदेश यात्रा गर्न नदिएपछि दुवै पदाधिकारी यात्रा रद्द गर्न बाध्य भएका हुन्।
अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सिफारिसका आधारमा एन्फाका केही पदाधिकारीको राहदानी अझै कालोसूचीमा रहेकाले उनीहरूलाई देश बाहिर जान अनुमति नदिइएको हो। परिषद्ले यसअघि एन्फाभित्र देखिएका आर्थिक तथा प्रशासनिक विषयहरूको छानबिनका क्रममा अध्यक्ष नेम्बाङसहित २४ जनाको राहदानी कालोसूचीमा राख्न सिफारिस गरेको थियो।
छानबिन प्रक्रिया सम्पन्न भइसकेको बताइए पनि सम्बन्धित पदाधिकारीहरूको राहदानी फुकुवा गर्ने निर्णय भने अझै नभएको स्रोतले जनाएको छ। एन्फा नेतृत्वले पटक–पटक कालोसूची हटाउन आग्रह गरे पनि राष्ट्रिय खेलकुद परिषद्ले त्यसलाई स्वीकृति नदिएको बताइएको छ।
पछिल्लो समय एन्फा र राष्ट्रिय खेलकुद परिषद बिच सम्बन्ध तनावपूर्ण बन्दै आएको छ। परिषद्ले आफ्नो निर्देशनविपरीत निर्वाचन प्रक्रिया अगाडि बढाएको आरोप लगाउँदै एन्फालाई केही समय निलम्बनसमेत गरेको थियो। यद्यपि उक्त निलम्बन पछि फुकुवा गरिएको थियो।
यसअघि पनि फिफासम्बन्धी कार्यक्रममा सहभागी हुन विदेश जान खोज्दा एन्फाका केही पदाधिकारी रोकिएका थिए। यद्यपि त्यतिबेला एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर भने क्यानडा पुगेका थिए। अध्यक्ष नेम्बाङलगायत अन्य पदाधिकारी भने यात्रा गर्न असफल भएका थिए।
विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको उद्घाटन समारोहमा नेपालको फुटबल नेतृत्व सहभागी हुन नपाउनु एन्फा र खेलकुद प्रशासनबीच जारी विवादको अर्को प्रकरणका रूपमा हेरिएको छ। यस घटनाले नेपाली फुटबल प्रशासनभित्रको असमझदारी र संस्थागत द्वन्द्व पुनः सतहमा आएको देखिएको छ।