झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित किचकवध पुरातात्विक स्थल मा भइरहेको उत्खनन् तथा संरक्षण कार्यका क्रममा करिब दुई हजार वर्ष पुरानो महत्त्वपूर्ण पुरातात्विक संरचना फेला परेको छ। पुरातत्वविद्हरूका अनुसार हालसम्मको अध्ययनले उक्त संरचना कम्तीमा इशापूर्व पहिलो शताब्दीको रहेको पुष्टि गरेको छ।
उत्खनन् गरिएको संरचना १७.७ मिटर चौडाइ र २६ मिटर लम्बाइको अद्वितीय ‘चतुशाला वास्तु संरचना’ रहेको बताइएको छ। चारैतर्फ कोठा तथा बीचमा खुला प्रांगण रहने परम्परागत शैलीको यस प्रकारको संरचनाले तत्कालीन समाजको वास्तुकला, जीवनशैली र सांस्कृतिक विकासबारे महत्त्वपूर्ण जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।
पुरातत्व क्षेत्रका विज्ञहरूले यस खोजलाई नेपालको प्राचीन इतिहास, कला र सभ्यताको अध्ययनका लागि उल्लेखनीय उपलब्धिका रूपमा लिएका छन्। यसले पूर्वी नेपालको ऐतिहासिक महत्त्वलाई थप उजागर गर्नुका साथै प्राचीन मानव बस्ती र सभ्यताको विकासक्रम बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ।
सरकारले स्थलको थप वैज्ञानिक अध्ययन, उत्खनन् र संरक्षण कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। किचकवध पुरातात्विक स्थललाई भविष्यमा महत्वपूर्ण सांस्कृतिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सम्भावनासमेत रहेको सरोकारवालाहरूको भनाइ छ।