काठमाडौं, जेठ २६ — विश्व सम्पदा सूचीमा सूचीकृत तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख आस्थास्थल स्वयम्भू महाचैत्य मा संरक्षण तथा जीर्णोद्धारअन्तर्गत गुम्बजमा वर्षौंदेखि जम्दै आएको चुनाको बाक्लो तह हटाउने कार्य सुरु गरिएको छ।
महाचैत्यको मौलिक स्वरूप जोगाउने उद्देश्यले पुरातत्त्व विभागको अनुमति तथा निगरानीमा सफाइ अभियान सञ्चालन गरिएको हो। हरेक वर्ष बुद्ध पूर्णिमा तथा अन्य धार्मिक अवसरमा श्रद्धालुहरूले गुम्बजमा सेतो चुना पोत्ने परम्परा रहेकाले समयसँगै चुनाको तह बाक्लिँदै गएको बताइएको छ।
स्वयम्भू क्षेत्रसँग आबद्ध सरोकारवालाहरूका अनुसार हाल गुम्बजमा चुनाको मोटाइ १३ देखि १५ इन्चसम्म पुगेको छ। यसले महाचैत्यको वास्तविक वास्तुकला ढाक्नुका साथै संरचनामा अतिरिक्त भार थप्ने जोखिम बढाएको छ। त्यसैले निश्चित अवधिमा पुरानो चुना हटाएर मूल संरचनालाई खुला बनाउने कार्य आवश्यक हुने गरेको छ।
यसअघि करिब एक दशकभन्दा बढी समयअघि पनि यस्तै सफाइ गरिएको थियो। त्यतिबेला गुम्बजमा २२ देखि ३० इन्चसम्म चुनाको तह फेला परेको जानकारी दिइएको छ। त्यसपछिका वर्षहरूमा पुनः लगातार चुना पोतिँदै जाँदा अहिले फेरि बाक्लो तह बनेको हो।
हाल दक्ष कालिगढ र प्राविधिकहरूको टोलीले अत्यन्त सावधानीपूर्वक पुरानो चुना हटाउने काम गरिरहेको छ। मूल संरचनामा कुनै क्षति नपुगोस् भन्ने उद्देश्यले प्रत्येक चरणमा विशेष सतर्कता अपनाइएको छ। सम्पूर्ण सफाइ कार्य सम्पन्न हुन करिब एक महिना लाग्ने अनुमान गरिएको छ।
सफाइपछि महाचैत्यको पुरातात्त्विक विशेषता, प्राचीन बनावट तथा वास्तविक सौन्दर्य पुनः स्पष्ट रूपमा देखिने विश्वास गरिएको छ। स्थानीय समुदाय, भिक्षुहरू तथा सम्पदा संरक्षणकर्मीहरूले यस अभियानलाई ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षणका लागि महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।