भारत सरकारले आफ्नै देशभित्र चिनीको पर्याप्त आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रणमा राख्न आगामी चार महिनासम्म चिनी निर्यात नगर्ने निर्णय गरेको छ। विश्वका प्रमुख चिनी उत्पादक तथा निर्यातकर्ता मुलुकमध्ये एक भारतले सेप्टेम्बर ३० सम्मका लागि यो प्रतिबन्ध लागू गरेको हो।
भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको आदेशअनुसार निर्णय तत्काल प्रभावबाट कार्यान्वयनमा आएको छ। यसअन्तर्गत सीमित अपवादबाहेक चिनी विदेश पठाउन रोक लगाइएको छ। यद्यपि सरकार–सरकारबीच खाद्य सुरक्षा सम्झौताअन्तर्गत हुने निर्यात र पहिल्यै प्रक्रिया पूरा भइसकेका केही कन्साइनमेन्टलाई भने छुट दिइने बताइएको छ।
भारतले यस्तो कदम आगामी उत्पादन सिजनलाई लिएर बढ्दो चिन्ताका कारण चालेको हो। अक्टोबरदेखि सुरु हुने नयाँ उत्पादन सिजनमा एल निनोको प्रभावका कारण वर्षा कम हुन सक्ने र त्यसले ऊखु उत्पादन घटाउने अनुमान गरिएको छ। ऊखु उत्पादनमा कमी आए चिनी उत्पादन घट्ने र घरेलु बजारमा मूल्य चर्किन सक्ने भएकाले सरकारले पूर्वतयारीस्वरूप निर्यात नियन्त्रण गरेको विश्लेषण गरिएको छ।
भारतमा चिनी दैनिक उपभोगसँगै खाद्य तथा पेय उद्योगको प्रमुख कच्चा पदार्थ हो। त्यसैले यसको मूल्यवृद्धिले उपभोक्ता र उद्योग दुवै क्षेत्रमा प्रभाव पार्न सक्छ। साथै ऊर्जा लागत वृद्धि र अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा देखिएको अस्थिरताले पनि भारतीय अर्थतन्त्रमा थप दबाब सिर्जना गरिरहेको छ।
भारतले चिनी निर्यात रोकेसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न सक्ने सम्भावना बढेको छ। भारत विश्व बजारको ठूलो आपूर्तिकर्ता भएकाले यसको निर्णयले एशिया, अफ्रिका र मध्यपूर्वका आयातकर्ता देशहरूमा प्रत्यक्ष असर पार्न सक्छ। नेपालजस्ता छिमेकी मुलुकमा पनि चिनीको मूल्य र आपूर्तिमा प्रभाव पर्न सक्ने आकलन गरिएको छ।