काठमाडौं, ३१ वैशाख — सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कि अर्थमन्त्रीले भन्ने विषयमा प्रतिनिधिसभामा तीव्र राजनीतिक दोहोरी देखिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखिरहेका बेला बिहीबारको कार्यसूचीमा भने अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले प्रधानमन्त्रीको तर्फबाट उत्तर दिने उल्लेख गरिएको छ।
संघीय संसदमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलका क्रममा उठेका प्रश्नहरूको उत्तर दिने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको हो। प्रतिनिधिसभाको दैनिक कार्यसूचीअनुसार प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनेछन्।
तर विपक्षी दलहरूले नीति तथा कार्यक्रम सरकारको प्रमुख दस्तावेज भएकाले यसको प्रतिरक्षा र स्पष्टीकरण स्वयं प्रधानमन्त्रीले गर्नुपर्ने माग गर्दै आएका छन्। बुधबार प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए। सभामुखसँग प्रधानमन्त्रीलाई उपस्थित गराउन पटक–पटक आग्रह गरिए पनि स्पष्ट प्रतिबद्धता नआएपछि बैठक स्थगित गरिएको थियो।
सत्तापक्ष भने संवैधानिक रूपमा प्रधानमन्त्रीले आफ्नो तर्फबाट कुनै पनि मन्त्रीलाई जवाफ दिन अधिकार दिन सक्ने तर्क गरिरहेको छ। यही विषयलाई लिएर संसद्भित्र राजनीतिक र संवैधानिक व्याख्याको बहस चर्किएको छ।
आजको बैठकमा अर्थमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रममाथि दर्ता भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने कार्यसूची रहेको छ। प्रधानमन्त्री स्वयं उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने विषय भने अझै चासोको केन्द्रमा रहेको छ ।