भारतको उत्तर प्रदेश मा बुधबार राति आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र उपचारका काम तीव्र बनाइएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सबैभन्दा बढी क्षति प्रयागराज, भदोही र मिर्जापुर जिल्लामा भएको छ। प्रयागराजमा १६ जनाको मृत्यु भएको छ भने भदोहीमा १५ र मिर्जापुरमा १० जनाले ज्यान गुमाएका छन्। अन्य जिल्लाहरूमा पनि हावाहुरीका कारण मानवीय क्षति भएको भारतीय अधिकारीहरूले बताएका छन्।
भदोहीमा मात्रै आठ जना गम्भीर घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेकाले उनीहरूलाई थप उपचारका लागि बनारस हिन्दू विश्वविद्यालय अन्तर्गतको अस्पतालमा पठाइएको छ।
तीव्र गतिको हावाहुरीले सयौँ रूख उखेलिएका छन्, बिजुलीका पोल ढलेका छन् र कच्ची घरहरू भत्किएका छन्। धेरैजसो मानिसको मृत्यु घरको पर्खाल भत्किँदा वा रूखले किच्दा भएको बताइएको छ। पशुचौपायामा पनि ठूलो क्षति पुगेको छ। भदोहीमा मात्र १६ भन्दा बढी गाईवस्तु मरेका छन्।
योगी आदित्यनाथ ले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न प्रशासनलाई निर्देशन दिएका छन्।
आँधीका कारण धेरै क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। राहत तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।